वीरगञ्ज, पर्सा २४ माघ —
नेकपा (एमाले) पर्सा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नम्बर–१७ अलौँमा घरदैलो तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै एमाले पर्सा–२ की उम्मेदवार रिमा कुमारी यादवले पर्साको समग्र विकास र परिवर्तनका लागि आफू सक्रिय राजनीतिमा आएको बताइन्। उनले पर्सा–२ का जनताले लामो समयदेखि बिकासको नाममा आश्वासन मात्र पाउँदै आएको उल्लेख गर्दै अब जनताको विश्वास जित्ने गरी व्यवहारिक र परिणाममुखी राजनीति गर्ने प्रतिबद्धता व्यक्त गरिन्। कार्यक्रमका क्रममा यसअघिका निर्वाचित जनप्रतिनिधिहरूले गरेका वाचा कार्यान्वयन नभएकाले जनता निराश बनेको उनको भनाइ थियो।
यादवले विगतमा यस क्षेत्रबाट निर्वाचित भई मन्त्रीसमेत बनेका नेताहरूले जनताको विकासभन्दा व्यक्तिगत स्वार्थमा केन्द्रित भएको आरोप लगाइन्। आफू जनताका विकाससम्बन्धी सबै आवश्यकताहरू पूरा गर्न सक्षम रहेको दाबी गर्दै उनले आगामी निर्वाचनमा आफूलाई विजयी गराउन मतदातासँग आग्रह गरिन्। “नेताहरू झुक्याउन आउँछन्, जनता सचेत हुनुपर्छ। आफ्नो मतको सदुपयोग गर्नुहोस्,” भन्दै उनले मतदातालाई सचेत रहन अपिल गरिन्। अब यस क्षेत्रको विकास जनताको हातमा रहेको उल्लेख गर्दै उनले नेकपा (एमाले) लाई जिताउन आग्रहसमेत गरिन्।
कार्यक्रममा रिमा यादवले महिला सशक्तिकरणलाई आफ्नो प्रमुख एजेन्डा रहेको बताउँदै विशेषगरी मधेशी महिलाहरू शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरबाट पछाडि परेको उल्लेख गरिन्। मधेशी महिलाको नेतृत्व विकास, सीपमूलक तालिम र आर्थिक सशक्तिकरण बिना समाजको समग्र विकास सम्भव नहुने उनको धारणा थियो। विकासबाट पछाडि परेको यस क्षेत्रलाई विकसित बनाउन आफू निरन्तर लागिपरेको उनले बताइन्।
उनले यस क्षेत्रको लागि शिक्षा क्षेत्रको सुधारलाई प्राथमिकतामा राख्दै गुणस्तरीय शिक्षा, विद्यालयको भौतिक पूर्वाधार सुधार तथा छात्रा शिक्षालाई प्रोत्साहन गर्ने योजना सार्वजनिक गरिन्। साथै पर्सा–२ मा सडक, खानेपानी, नाला, विद्युत् लगायतका भौतिक पूर्वाधार विकासलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरिन्।
कार्यक्रममा नेकपा (एमाले) का केन्द्रीय सदस्य बिजय सरावगी, समानुपातिक उम्मेदवार बिचारी यादव, एमाले पर्सा–२ का क्षेत्रीय अध्यक्ष मनोज कुशवाहा, युवा नेता मुकेश दिवेदी, वीरगञ्ज महानगरका कार्यवाहक अध्यक्ष लियाकत अली, वडा अध्यक्ष सन्जु छतकुली लगायतले आ–आफ्नो धारणा राखेका थिए।
कार्यक्रममा युवा नेता अजय साह, पिन्टु उपाध्याय, प्रधुमन यादव, राजकपुर गुप्ता लगायत सयौँ कार्यकर्ता तथा स्थानीय बासीको सहभागिता रहेको थियो।