मोरङ, २४ माघ — सशस्त्र प्रहरी बल नेपालका उपरीक्षक (एसपी) राजेश घिमिरेको हृदयघातका कारण निधन भएको छ। मोरङको विराटचोकमा शुक्रबार सशस्त्र प्रहरी बल नेपाल र भारतको सीमा सुरक्षा बल (एसएसबी) का अधिकारीहरू सहभागी डीआईजी तहको समन्वय बैठककै क्रममा उहाँ अचानक बेहोस भएर ढल्नुभएको थियो।
सशस्त्र प्रहरी बल मोरङका प्रमुखका रूपमा कार्यरत घिमिरे बैठकमा सहभागी भइरहँदा दिउँसो नै केही शारीरिक असहजता देखिएको थियो। सशस्त्र प्रहरी बल नं. १ बराह वाहिनी पकली, सुनसरीका डीआईजी कुमार न्यौपानेका अनुसार सुरुमा असहज महसुस भए पनि घिमिरेले आफू ठीक रहेको भन्दै पुनः बैठकमा सहभागिता जनाउनुभएको थियो।
तर साँझपख पुनः अचानक बेहोस भएर ढल्नुभएपछि उहाँलाई हृदयघात भएको आशंका गरिएको थियो। बैठकस्थलमै ढल्नुभएका घिमिरेलाई तत्काल उपचारका लागि मोरङको बुढीगंगास्थित विराट शिक्षण अस्पताल पुर्याइएको थियो। बेहोस भएर ढल्ने क्रममा उहाँको जिब्रोसमेत काटिएको थियो।
अस्पताल पुर्याउँदा उहाँको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि सघन उपचारका लागि भेन्टिलेटरमा राखिएको थियो। तर उपचारकै क्रममा राति करिब ९ बजे उहाँको मृत्यु भएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार उच्च रक्तचापका कारण घिमिरेलाई हृदयघात भएको हो।
एसपी घिमिरे हालै नम्बर ३ वाहिनी गढीमाई मुख्यालय, मकवानपुरमा सरुवा हुनुभएको थियो र शनिबार त्यसतर्फ प्रस्थान गर्ने तयारीमा हुनुहुन्थ्यो। उहाँको निधनले सशस्त्र प्रहरी बलमा शोकको छायाँ छाएको छ।