वीरगन्ज, २१ माघ
पर्साको बिन्दवासिनी गाउँपालिकाले संघीय सरकारबाट प्राप्त १ करोड १० लाख रुपैयाँको बजेटमा दलित तथा विपन्न समुदायका लागि सञ्चालन गरेको आवास निर्माण योजनामा अनियमितता भएको आरोप लगाउँदै वडा नम्बर २ बहुअर्वाभाठाका दलित महिलाहरूले गाउँपालिका कार्यालय अगाडि प्रदर्शन गरेका छन्।
लाभग्राही समुदायलाई कुनै जानकारी नदिई टेण्डर आह्वान गरी ठेक्का लगाइसकेको भन्दै उनीहरूले आपत्ति जनाउँदै सूचनाको हक प्रयोग गरी निवेदनसमेत दर्ता गराएका छन्, जसमा अनुदान रकमको विवरण, लाभग्राही छनोट प्रक्रिया, छनोट गरिएका लाभग्राहीको नामावली, निर्माण हुने भवनको अन्तिम स्वामित्वलगायत विषयमा लिखित जानकारी माग गरिएको छ।
वास्तविक लाभग्राहीको सट्टा नक्कली लाभग्राही समावेश गरिएको आरोपसमेत लगाउँदै उनीहरूले निर्माण प्रक्रिया तत्काल रोक्न माग गरेका छन् भने यसअघि पूर्व वडाध्यक्ष सन्जय चौहानले दिएको निवेदनको पनि सुनुवाइ नभएको बताइएको छ।