आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News निर्वाचनमा २७ अर्ब खर्च अनुमान, म्यादी प्रहरीमै ९ अर्बभन्दा बढी

निर्वाचनमा २७ अर्ब खर्च अनुमान, म्यादी प्रहरीमै ९ अर्बभन्दा बढी

81

काठमाडौं,  ८ माघ — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको व्यवस्थापन तथा सुरक्षाका लागि सरकारले हालसम्म १९ अर्ब २१ करोड रुपैयाँ निकासा गरेको छ। अर्थ मन्त्रालयका अनुसार मंगलबारसम्म उक्त रकम विभिन्न मन्त्रालय तथा निकायलाई उपलब्ध गराइएको हो।

निर्वाचन आयोगले यो निर्वाचन सम्पन्न गर्न करिब २७ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरेको छ। हालसम्म निकासा भएको रकम आयोगले अनुमान गरेको कुल खर्चको करिब ७१ प्रतिशत हो।

सरकारले निकासा गरेको बजेटमध्ये सबैभन्दा ठूलो हिस्सा निर्वाचन सुरक्षामा खर्च भइरहेको देखिन्छ। अर्थ मन्त्रालयका तथ्यांकअनुसार गृह मन्त्रालय अन्तर्गतका सुरक्षा निकायका लागि १० अर्ब ३९ करोड रुपैयाँ निकासा गरिएको छ भने रक्षा मन्त्रालयलाई १ अर्ब ९९ करोड रुपैयाँ प्रदान गरिएको छ।

त्यस्तै, निर्वाचन व्यवस्थापन, मतपत्र छपाइ, कर्मचारी परिचालन, सूचना प्रणाली तथा अन्य प्रशासनिक प्रयोजनका लागि निर्वाचन आयोगलाई ६ अर्ब ७२ करोड रुपैयाँ उपलब्ध गराइएको छ।
निर्वाचन सुरक्षाका लागि गृह तथा रक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पेश गरेको प्रस्तावित बजेट विवरणअनुसार म्यादी प्रहरीको खर्च सबैभन्दा बढी रहेको छ। ४० दिनका लागि परिचालन गरिने १ लाख ४७ हजार म्यादी प्रहरीका लागि पारिश्रमिक, पोसाक, रासन, यातायातलगायत शीर्षकमा ९ अर्ब १५ करोड रुपैयाँ प्रस्ताव गरिएको छ।

यसैगरी, नेपाल प्रहरीका लागि ४ अर्ब २ करोड, नेपाली सेनाका लागि ३ अर्ब ४४ करोड तथा सशस्त्र प्रहरी बलका लागि ३ अर्ब ३३ करोड रुपैयाँ बजेट प्रस्ताव गरिएको छ। निर्वाचन अवधिभर ७७ वटै जिल्ला प्रशासन कार्यालयका लागि ३१ करोड ४६ लाख रुपैयाँ, गृह मन्त्रालयका लागि ३१ करोड रुपैयाँ र राष्ट्रिय अनुसन्धान विभागका लागि ६ करोड ९० लाख रुपैयाँ खर्च प्रस्ताव गरिएको छ।

सरकारका अनुसार निर्वाचनलाई शान्त, सुरक्षित र विश्वसनीय बनाउन सम्बन्धित सबै निकायबीच समन्वय गर्दै बजेट व्यवस्थापन गरिएको हो। आगामी प्रतिनिधिसभा निर्वाचनमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिनेछ। तथ्यांकअनुसार नेपाली सेनाका ७९ हजार ७ सय २७, नेपाल प्रहरीका ७१ हजार ६ सय २०, सशस्त्र प्रहरी बलका ३५ हजार १ सय १६ तथा राष्ट्रिय अनुसन्धान विभागका १ हजार ९ सय जनशक्ति प्रत्यक्ष रूपमा खटाइने भएको छ ।

अघिल्ला निर्वाचनसँग तुलना गर्दा यसपटक निर्वाचन खर्च उल्लेखनीय रूपमा बढ्दो क्रममा देखिएको छ। २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि सरकारले १८ अर्ब ५ करोड ४८ लाख रुपैयाँ निकासा गरेकोमा १६ अर्ब ४९ करोड ७३ लाख रुपैयाँ वास्तविक खर्च भएको थियो, जुन कुल निकासाको ९१ दशमलव ३७ प्रतिशत हो।
त्यसैगरी, २०७८/७९ को स्थानीय तह निर्वाचनमा १३ अर्ब ३१ करोड ५४ लाख रुपैयाँ निकासा गरिएकोमा ९० दशमलव ८० प्रतिशत खर्च भएको थियो।

अघिल्ला निर्वाचनहरूमा निकासा गरिएको बजेटको अधिकांश हिस्सा खर्च भएको तथ्यलाई हेर्दा यसपटक पनि तोकिएको बजेट लगभग पूर्ण रूपमा खर्च हुने अनुमान गरिएको छ। निर्वाचन आयोगको अनुमानअनुसार बाँकी करिब ८ अर्ब रुपैयाँ आगामी दिनमा थप निकासा हुने सम्भावना छ।