हेटौडा, ७ माघ- मकवानपुर प्रहरीले ठूलो परिमाणको लागूऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ। थाहा नगरपालिका–१० टौखेलबाट १ सय २१ केजी ४ सय ६६ ग्राम चरेससहित अटो चालकसहित दुई जनालाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा थाहा नगरपालिका–४ रुप्सेका २९ वर्षीय घनश्याम बल तामाङ र मकवानपुरको कैलाश गाउँपालिका–५ का २१ वर्षीय सानुकान्छा थिङ रहेका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पालुङ र चित्लाङबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरी टोलीले टौखेलबाट मार्खुतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ह १५०७ नम्बरको अटो चेकजाँच गर्ने क्रममा अटोभित्र १२ वटा प्लास्टिकका डिब्बामा लुकाएर ल्याइएको अवस्थामा चरेस फेला पारेको जनाएको छ।
बरामद गरिएको चरेससहित दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनालाई मकवानपुर जिल्ला अदालतबाट बुधबार ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।