आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News पतञ्जलि जग्गा हिनामिना प्रकरण : माधवकुमार नेपालसहित ९३ जनाविरुद्धको मुद्दाको पेसी

पतञ्जलि जग्गा हिनामिना प्रकरण : माधवकुमार नेपालसहित ९३ जनाविरुद्धको मुद्दाको पेसी

96

काठमाडौं, ७ माघ — नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसमेत जोडिएको पतञ्जलि भ्रष्टाचार प्रकरणको मुद्दाको पेसी माघ १४ गतेका लागि तोकिएको छ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावलको इजलासले यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अख्तियार) लाई सम्बन्धित अनुसन्धान फाइल झिकाउन आदेश दिएको थियो। तर आदेशअनुसार फाइल नआएपछि अदालतले पुनः आदेश जारी गरेको थियो। बुधबार अख्तियारबाट फाइल प्राप्त भएपछि उक्त मुद्दाको पेसी माघ १४ गतेका लागि तोकिएको हो।

विशेष अदालतका सूचना अधिकारी यज्ञ रेग्मीले भने, “यसअघि आदेश भए पनि अख्तियारबाट फाइल आएको थिएन। अहिले पुनः आदेशपछि अख्तियारले फाइल पठाएको छ। आज यो मुद्दाको पेसी माघ १४ गतेलाई तोकिएको छ।” उनका अनुसार अख्तियारले यसअघि मुद्दा नचल्ने गरी फाइल तामेलीमा राख्ने निर्णय गरेको थियो, सोही निर्णयको सुनुवाइका लागि पेसी तोकिएको हो।

अख्तियारले गत जेठ २२ गते पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा माधवकुमार नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको थियो। अख्तियारले नेपालसहित प्रतिवादीहरुविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरेको छ।

अख्तियारको दाबीअनुसार, नेपाल प्रधानमन्त्री रहेका बेला २०६६ फागुन ६ गतेको मन्त्रिपरिषद् बैठकबाट पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा व्यक्तिलाई लाभ हुने गरी हस्तान्तरण तथा कारोबार स्वीकृति दिइएको थियो। सोही मन्त्रिपरिषद् निर्णयका आधारमा ३१४ रोपनी १५ आना २ पैसा १ दाम जग्गा हिनामिना भएको ठहर अख्तियारको छ।