आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News फागुन ४ देखि १८ गतेसम्म प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसार अवधि तोकियो

फागुन ४ देखि १८ गतेसम्म प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसार अवधि तोकियो

81

काठमाडौं, ७ माघ-  निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि फागुन ४ गतेदेखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसारको समय निर्धारण गरेको छ। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले तोकिएको अवधिभित्र निर्वाचन आचारसंहिता पालना गर्दै प्रचारप्रसार गर्न राजनीतिक दल तथा उम्मेदवारलाई आग्रह गरेका छन्।

मंगलबार निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमा भण्डारीले मनोनयनपत्र दाखिल गरेपछि प्रचार गर्न नपाइने भन्ने भ्रम रहेको उल्लेख गर्दै निर्वाचन चिह्न प्राप्त भएपछि घरदैलो कार्यक्रममार्फत मतदातासँग भेटघाट गर्न तथा रायसुझाव लिन पाइने स्पष्ट पारे। तर उनले ठूला आमसभा, गोष्ठी, सेमिनारजस्ता गतिविधि दलगत रूपमा गर्न नपाइने जानकारी दिए।

‘निर्वाचन आचारसंहिता लागू भइसकेको छ। आचारसंहिता उल्लंघनसम्बन्धी उजुरी आएमा आयोगले छानबिन गरी आवश्यक निर्णय लिने अधिकार राख्छ,’ भण्डारीले भने।

उनले प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका प्रदेशसभा तथा स्थानीय तहका जनप्रतिनिधिको पद रिक्त हुने स्पष्ट गर्दै ती रिक्त स्थानमा फागुन २१ गतेपछि निर्वाचन गरिने जानकारी पनि दिए।

निर्वाचन आयोगले निष्पक्ष, स्वच्छ र मर्यादित निर्वाचन सुनिश्चित गर्न राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम तथा सबै सरोकारवाला पक्षको जिम्मेवार भूमिका अपरिहार्य रहेको जनाएको छ।