काठमाडौं, ४ माघ – प्रधानमन्त्री सुशीला कार्यकीले आसन्न निर्वाचन, निर्वाचन आचारसंहिता तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न मन्त्रीहरूसहितको बैठक आह्वान गरेकी छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार अपराह्न ४ बजे बस्ने उक्त बैठकमा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गर्ने विषयमा केन्द्रित रहेर सरोकारवालाबीच विचार–विमर्श हुने जनाइएको छ । बैठकमा निर्वाचन आचारसंहिता पालना, सरकारको भूमिका तथा निर्वाचनसँग सम्बन्धित वर्तमान चुनौतीबारे समेत छलफल हुने तयारी छ ।
निर्वाचन कार्यतालिकाअनुसार प्रत्यक्षतर्फ मंगलबार उम्मेदवारी दर्ता गर्ने कार्यक्रम तय गरिएको छ । तर राजनीतिक दलहरूले उम्मेदवारी चयनका लागि आन्तरिक व्यवस्थापनमा समस्या परेको भन्दै केही दिन मिति सार्न निर्वाचन आयोगसँग अनुरोध गरिरहेका छन् ।
दलहरूको उक्त माग, निर्वाचन आयोगको तयारी र सम्भावित निर्णयका विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।