काठमाडौं, ४ माघ – प्रतिनिधि सभाको निर्वाचनमा सहभागी हुने राजनीतिक दलहरूलाई उम्मेदवार छनोटमा समयको चाप परेपछि निर्वाचन आयोगले उम्मेदवार मनोनयनको मिति केही दिन सार्ने संकेत गरेको छ |
राजनीतिक दलहरूका तर्फबाट मनोनयनको समय थप गर्न औपचारिक तथा अनौपचारिक रूपमा आयोगमा माग पुगिरहेको जनाइएको छ । सोही दबाबका कारण आयोगले मनोनयन मिति समायोजन गर्ने सम्भावनाबारे छलफल अघि बढाएको हो ।
आयोगका एक आयुक्तका अनुसार विभिन्न दलहरूबाट मिति सार्न चौतर्फी दबाब आएको छ । प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता मितिबारे आयुक्तले सर्वदलीय सहमति जुटेमा एक–दुई दिन मनोनयनको मिति सार्न सकिने संकेत गर्नुभयो ।
यद्यपि आगामी फागुन २१ गते तोकिएको निर्वाचनको मिति भने प्रभावित नहुने गरी मनोनयनको समय सार्ने तयारी रहेको आयोग स्रोतले जनाएको छ ।
यसैबीच, निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई वैधानिकता दिएको निर्णयविरुद्ध शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत पुगेको छ । देउवा पक्षले आयोगमै पुगेर उम्मेदवार मनोनयनको मिति सार्न आग्रह गरेको बताइएको छ ।