आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News प्रतिनिधिसभा निर्वाचनः आजदेखि १६५ निर्वाचन क्षेत्रमा निर्वाचन कार्यालय सञ्चालन

प्रतिनिधिसभा निर्वाचनः आजदेखि १६५ निर्वाचन क्षेत्रमा निर्वाचन कार्यालय सञ्चालन

115

काठमाडौं, २ माघ — प्रतिनिधिसभा निर्वाचनको सञ्चालन तथा व्यवस्थापन प्रयोजनका लागि निर्वाचन आयोगले आजदेखि देशभरका सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने भएको छ।
प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको उम्मेदवारी मनोनयन ६ माघमा हुने भएपछि त्यसको पूर्वतयारीस्वरूप सम्बन्धित निर्वाचन क्षेत्रहरूमा निर्वाचन कार्यालय खोली कर्मचारी खटाउने तयारी गरिएको आयोगले जनाएको छ।

आयोगका सहायक प्रवक्ता सीता श्रीस पुनका अनुसार आजदेखि १ सय ६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आउनेछ। निर्वाचन प्रक्रिया प्रभावकारी र व्यवस्थित रूपमा अघि बढाउन आयोगले आवश्यक जनशक्ति परिचालन गरिसकेको छ।

आयोगले प्रत्येक जिल्लाका लागि ७७ जना मुख्य निर्वाचन अधिकृत तथा ८८ जना निर्वाचन अधिकृत तोकिसकेको छ। मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई एक–एक निर्वाचन क्षेत्रको जिम्मेवारी प्रदान गरिएको छ।
मुख्य निर्वाचन अधिकृतको रूपमा जिल्ला न्यायाधीशहरूलाई तोकिएको छ भने न्याय सेवाका द्वितीय श्रेणीका अधिकृतहरूलाई निर्वाचन अधिकृत नियुक्त गरिएको छ। न्याय परिषद्सँगको परामर्शमा आयोगले मुख्य तथा अन्य निर्वाचन अधिकृतहरूको नाम टुंगो लगाएको जनाएको छ।