आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News म्यादी प्रहरी भर्नाप्रति उत्साह, ६ दिनमा १ लाख ६० हजार दरखास्त, आज दरखास्तको अन्तिम दिन

म्यादी प्रहरी भर्नाप्रति उत्साह, ६ दिनमा १ लाख ६० हजार दरखास्त, आज दरखास्तको अन्तिम दिन

76

काठमाडौँ, १ माघ –  आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षाका लागि भर्ना गरिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) मा ६ दिनको अवधिमै १ लाख ६० हजारभन्दा बढीले आवेदन दिएका छन्।
२५ पुसदेखि निर्वाचन प्रहरी भर्नाका लागि आवेदन खुला गरिएकोमा बुधबारसम्म कुल १ लाख ६० हजार २ सय ३९ जनाको दरखास्त परेको सम्बन्धित निकायले जनाएको छ। आवेदन दिने अन्तिम म्याद बिहीबार (आज) रहेको छ।

२१ फागुनमा तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी मातहत खटिने गरी १ लाख ३३ हजार ९ सय ८० र सशस्त्र प्रहरी बल (एपीएफ) मातहत परिचालन हुने गरी १५ हजार १ सय १० जनाको भर्ना खुलाइएको थियो। नेपाल प्रहरीले जिल्लास्थित प्रहरी कार्यालयमार्फत तथा सशस्त्र प्रहरीले जिल्लाकै गण तथा गुल्मबाट आवेदन संकलन गरिरहेको छ।

प्राप्त विवरणअनुसार नेपाल प्रहरीमार्फत १ लाख ४७ हजार ९ सय ८८ र सशस्त्र प्रहरी बलमार्फत १२ हजार २ सय ५१ जनाले आवेदन दिएका छन्। तीमध्ये नेपाल प्रहरीमार्फत आवेदन दिनेहरूमा विगतका निर्वाचनमा म्यादी प्रहरीका रूपमा खटिएका २१ हजार ७ सय ३६ जना रहेका छन् भने सशस्त्र प्रहरीमार्फत आवेदन दिनेमा ९ सय ३७ जना पूर्व म्यादी प्रहरी रहेका छन्।
यस्तै, कुल आवेदनमध्ये ३९ हजार ९ सय १ महिलाको सहभागिता रहेको जनाइएको छ।