काठमाण्डौ, २६ मङ्सिर — सहकारी तथा वित्तीय संस्थाबाट रकम चोरी गरेको आरोपमा एक युवक काठमाडौँबाट नगदसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नगरपालिका–९ निवासी २८ वर्षीय दीपक गजुरेल रहेका छन्। जिल्ला प्रहरीले उनलाई आवश्यक अनुसन्धानका लागि ५ दिनको म्याद लिई प्रक्रियागत कारबाही अघि बढाएको छ।
प्रहरीका अनुसार बिहीबार मध्यराति करिब १२ बजे गजुरेलले सोह्रखुट्टेस्थित होटल लोटस ग्राण्डको पहिलो तल्लामा रहेको नेपाल होलिडे ट्राभल्समा चोरी गरेको प्रमाण भेटिएको छ। साथै, मंसिर २४ गते सिनामंगलस्थित राज श्री फाइनान्सबाट पनि रकम चोरी गरेको आरोप उनीमाथि लागेको छ।
गजुरेलको साथबाट प्रहरीले १० लाख २३ हजार ५ सय रुपैयाँ नगद बरामद गरेको छ। चोरीका क्रममा प्रयोग गरेको हुडी, स्पोर्टस् जुत्ता, चाँदीको धातु, क्यानन क्यामेरा समेत उनको साथबाट फेला परेको प्रहरीले जनाएको छ।
काठमाडौँ जिल्ला प्रहरी परिसरका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार गजुरेलसँग यसअघि चोरी, सहकारी चोरी, लागुऔषध तथा अभद्र व्यवहारसम्बन्धी गरी २२ पटक मुद्दा चलिसकेको प्रहरीले जनाएको छ। जेनजी आन्दोलनको क्रममा उनी केन्द्रीय कारागार सुन्धाराबाट फरार भएको तथ्य पनि खुलेको प्रहरीले जनाएको छ। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी राखेको जनाएको छ।