काठमाडौँ, २७ मङ्सिर — नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको सल्लाघारीमा देखिएको विशाल जनसहभागितालाई सामान्य भिडभाडका रूपमा नबुझ्न चेतावनी दिएका छन्। शनिबार पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले एमालेको शक्तिलाई ‘अन्डरएसटिमेट’ नगर्न चुनौती दिएका हुन्।

अध्यक्ष ओलीले महाधिवेशनस्थलमा उपस्थित विशाल जनसागरप्रति संकेत गर्दै भने, “यो मानिसहरूको भिड मात्रै होइन, यो एउटा आन्दोलन हो। देश र लोकतन्त्र जोगाउने अभियान हो।” एमालेलाई सिध्याउन चौतर्फी घेराबन्दी भइरहेको अवस्थामा जनताको यो उपस्थितिले प्रतिगमनविरुद्धको संघर्षको स्पष्ट सन्देश दिएको उनले बताए। उनले भने, “यसलाई कसैले गल्तीले पनि ‘अन्डरमाइन’ नगरोस्। एमालेलाई होच्याउने, जिस्क्याउने र समाप्त पार्ने सपना देख्नेहरूका लागि यो जनसागर नै जवाफ हो।”
अध्यक्ष ओलीले एमालेको शक्ति र संकल्पले देशलाई पुनः लोकतान्त्रिक ट्र्याकमा फर्काएरै छाड्ने दाबी गरे। “संसद पुनर्स्थापना गराएर छोडिन्छ, संविधानलाई ट्र्याकमा ल्याएर छोडिन्छ—यो नेकपा एमालेको संकल्प हो,” उनले उद्घोष गरे।

अध्यक्ष ओली ले दोहारयाए ११ औँ राष्ट्रिय महाधिवेशन केवल नेतृत्व चयनमा सीमित नभई देशलाई अस्थिरताबाट जोगाउने, लोकतन्त्रको रक्षा गर्ने र विकासको अभियानलाई निरन्तरता दिने ऐतिहासिक अवसर हो। अन्त्यमा अध्यक्ष ओलीले कसैले एमाले फुटाउन वा कमजोर पार्न खोजे पनि त्यो केवल ‘दिवास्वप्न’ मात्र हुने जिकिर गर्दै पार्टी एकताबद्ध र जनसमर्थनसहित अघि बढिरहेको स्पष्ट पारे।