वीरगंज, २६ मङ्सिर – वीरगंज महानगरपालिका वडा न १२ मा नवनिर्मित वडा कार्यालय भवनको उदघाटन भएको छ | करिब आठ वर्षपछि वडा समितिको कार्यालय तथा स्वास्थ्य चौकी आफ्नै नवनिर्मित भवनमा सारिएको छ। संघीय सरकारको १ करोड २५ लाख रुपैयाँ लागतमा मुर्ली पोखरी नजिक निर्माण गरिएको दुई तल्ले सुविधासम्पन्न भवन शुक्रबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो।
शुक्रबार वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह र वडा अध्यक्ष सुरेश प्रसाद गुप्ता ले रिबन काटेर नवनिर्मित भवनको उद्घाटन गरेका हुन्। वडाध्यक्ष सुरेश प्रसाद गुप्ताका अनुसार, आफ्नै भवन नहुँदा वर्षौँदेखि वडा कार्यालय र स्वास्थ्य चौकी भाडाको घरमा सञ्चालन भइरहेको थियो। नयाँ भवनको भुइँतल्लामा स्वास्थ्य चौकी र माथिल्लो तल्लामा वडा कार्यालय सञ्चालनमा ल्याइएको जानकारी उनले दिए।
नवनिर्मित भवनबाट सेवा सुरु भएपछि सेवाग्राही र उपचारका लागि आउने बिरामीलाई अझ सहज र व्यवस्थित सेवा दिन सकिने वडाध्यक्ष गुप्ताले बताए। उद्घाटन समारोह वडाध्यक्ष गुप्ताको अध्यक्षता र मेयर सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्ण, वडा सदस्य दिपक डंगोल, सीमा बैठा, वडा सचिव मुकेश दाससहित कर्मचारी तथा स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो।