आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News सर्लाहीमा एम्बुलेन्स प्रयोग गरी लागु औषध गाँजा ओसारपसार

सर्लाहीमा एम्बुलेन्स प्रयोग गरी लागु औषध गाँजा ओसारपसार

80

सर्लाही, २१ मङ्सिर –  सर्लाहीमा बिरामी बोक्ने एम्बुलेन्सलाई नै लागुऔषध ओसारपसारको माध्यम बनाइएको खुलेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीले हरिवनबाट ठूलो परिमाणको गाँजा सहित एक एम्बुलेन्स नियन्त्रणमा लिएपछि यो तथ्य बाहिर आएको हो।

हरिवन नगरपालिका–५, घुर्कौलीस्थित हिरालाल टोलमा रोकेर जाँच गरिएको ज १ च १५५८ नम्बरको एम्बुलेन्सको पछाडिपट्टि बोराभित्र लुकाइराखिएको ५१ किलो ५ सय ग्राम गाँजा प्रहरीले बरामद गरेको हो। नेपाल रेडक्रस सोसाइटी, रामनगर बहुअर्वाको नाममा दर्ता भएको उक्त एम्बुलेन्समा गाँजा लुकाइओसारपसार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरी टोलीले कारबाही गरेको बताइएको छ।

घटनामा संलग्न रहेको आरोपमा रौतहट जिल्लाको यमुनामाई गाउँपालिका–४, सरुअठा निवासी ३७ वर्षीय सुरेन्द्र राय यादवलाई प्रहरीले पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिएका छन्। यसअघि पनि, शुक्रबार लालबन्दी नगरपालिका–११, हीरापुरबाट प्रहरीले ५२ किलो गाँजा सहित एक पिकअप भ्यान नियंत्रकमा लिएर एक जनालाई पक्राउ गरेको थियो। लगतै केही दिनमै अर्को ठूलो परिमाणको गाँजा बरामद भएपछि सर्लाहीमा लागुऔषध तस्करी बढ्दै गएको अनुमान गर्न सकिन्छ ।