आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News नेकपा एमाले राजनीतिक मैदानमा सधैं ‘गोल्डेन बुट’ जित्ने खेलाडी

नेकपा एमाले राजनीतिक मैदानमा सधैं ‘गोल्डेन बुट’ जित्ने खेलाडी

131

काठमाडौँ, २० मङ्सिर- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई सधैं विजेता बन्न सक्ने ‘गोल्डेन बुट’ जित्ने खेलाडीको रूपमा चित्रण गरेका छन्। शनिबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘नवयुग’ ई–बुलेटिन शुभारम्भ कार्यक्रममा बोल्दै उनले एमालेलाई रोक्न कुनै शक्ति सक्षम नभएको दाबी गरे। पार्टीको बलियो उपस्थिति र प्रभावबारे चर्चा गर्दै ओलीले भने, “नेकपा एमाले यस्तो खेलाडी हो, जसले सधैं गोल्डेन बुट जित्छ। एमालेको खुट्टामा बल पर्यो कि कुद्यो र लग्यो, ड्याम्मै गोल गरिहाल्छ।”

अध्यक्ष ओलीले अहिले आफ्नो पार्टी सरकार बनाउने वा ढाल्ने राजनीतिक खेलमा छैन भन्ने स्पष्ट पार्दै निष्पक्ष निर्वाचनकै प्रतीक्षामा रहेको जानकारी दिए। “हामी बीचको खेलमा सरकार बनाउने पक्षमा छैनौँ। चुनाव जहिले हुन्छ, त्यसपछि बन्ने सरकार एमालेकै हो,” उनले भने।

एमालेलाई विशाल नदीमा आएको बाढीसँग तुलना गर्दै उनले पार्टीलाई साना अवरोधले रोक्न नसक्ने चेतावनी पनि दिए। “एमाले बाढी जस्तै हो, जसलाई बाँसका भाटा वा आलीले रोक्न सकिँदैन। एमाले आयो आयो,” ओलीले दाबी गरे। कार्यक्रममा एमाले नेतृत्वले नवप्रविधि प्रयोग तथा सूचना प्रसारण प्रणालीलाई अझ सुदृढ बनाउने उद्देश्यसहित ‘नवयुग’ ई–बुलेटिन औपचारिक रूपमा सार्वजनिक गरिएको थियो।