मधेस प्रदेश, १९ मङ्सिर – मधेश प्रदेशको नयाँ मुख्यमन्त्रीका रूपमा नेपाली कांग्रेसका कृष्णप्रसाद यादव नियुक्त भएका छन्। शुक्रबार साँझ प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
हाल मधेश प्रदेशमा १०४ जना प्रदेशसभा सदस्य रहेका छन्, जस मध्ये ७७ सदस्यको समर्थनसहित यादवले सरकार गठनको दाबी पेश गरेका थिए। उनी मधेश प्रदेशका छैटौँ मुख्यमन्त्री हुन्। यादव नेतृत्वको सरकारलाई जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), माओवादी केन्द्र, नेकपा (एस) तथा नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले समर्थन गरेका छन्। गत बुधबार तत्कालीन मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा दिएसँगै नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरेका थिए।
सात दलबीच लामो रस्साकसीपछि आज शुक्रवार नै यादवलाई मुख्यमन्त्री बनाउने सहमति जुटेको हो। नवनियुक्त मुख्यमन्त्री यादवले विभिन्न दलबाट एक–एक जना मन्त्रीलाई समावेश गरी शपथ ग्रहण गराउने बताएका छन्। बाँकी मन्त्रालयहरूको टुंगो भने विश्वासको मतपछि हुने उनले स्पष्ट पारे।यसअघि मधेश प्रदेशको मुख्यमन्त्रीका रूपमा लालबाबु राउत, सरोजकुमार यादव, सतीशकुमार सिंह, जितेन्द्रप्रसाद सोनल तथा सरोजकुमार यादव ले जिम्मेवारी सम्हालिसकेका छन्।
