बारा, १२ कार्तिक — बाराको प्रसौनी गाउँपालिका–६ भलुहीस्थित किरण वेभरेज नेपाल प्रालिमा कार्यरत एक व्यवस्थापक घाँटी रेटी हत्या गरिएको अवस्थामा मृत फेला परेका छन्। सर्लाही धनकौल स्थायी घर भएका ४२ वर्षीय रामनरेश सिंहको शव शुक्रबार बिहान स्थानीयले भलुही चोक नजिकैको खोल्सामा देखेपछि प्रहरीले घटनास्थलको जानकारी पाएको हो।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार शवको अवस्था हेर्दा सिंहको बिहीबार राति हत्या गरिएको प्रारम्भिक अनुमान गरिएको छ। मृतक सिंह विगत केही समयदेखि प्रसौनी स्थित पानी उद्योगमा व्यवस्थापकका रूपमा कार्यरत थिए।‘सिंहको घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ। घटनाबारे थप अनुसन्धान हुँदैछ,’ डिएसपी पण्डितले जानकारी दिए।
शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल कलैयामा पठाइएको प्रहरीले जनाएको छ। हत्यामा संलग्नबारे अहिलेसम्म कुनै प्रमाण फेला नपरेको तथा घटनास्थलबाट प्रमाण संकलन र आसपासको क्षेत्रको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।