काठमाडौँ, ११ मङ्सिर- भदौ २४ गते काठमाडौंका विभिन्न प्रहरी कार्यालयबाट लुटिएका पेस्तोलसहित तीन जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको विशेष टोलीले दुई वटा पेस्तोल र एक थान म्यागजिनसहित मकवानपुरका २५ वर्षीय निकेश विक, २५ वर्षीय सुरज विक तथा बागलुङका २५ वर्षीय बालकृष्ण गैरेलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ परेका निकेश विकविरुद्ध सयौँ मुद्दा दर्ता भएका खुलेका छन्। २०८१ माघ ११ गते केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० मा आपराधिक विश्वासघात तथा आपराधिक लाभ लिन नहुने कसुरमा मुद्दा दर्ता भई उनी फरार प्रतिवादीको सूचीमा रहेको पाइएको छ। त्यस्तै २०८१ भदौ ५ गते इलाका प्रहरी कार्यालय गौशाला, महोत्तरीमा चोरीसम्बन्धी मुद्दामा पनि उनी फरार रहेका थिए।
पक्राउ परेका निकेश र सुरजले मंसिर ५ गते राति करिब २ बजे काठमाडौंको बागबजारमा ‘भोज फुड’ डेलिभरी कर्मचारी निरज चौधरीलाई पेस्तोल देखाएर धम्क्याएको र उनले लुटपाटसमेत गरेको उपत्यका प्रहरी प्रमुख एसपी काजीकुमार आचार्यले जानकारी दिए। प्रहरीले उनीहरूविरुद्ध थप अनुसन्धान अघि बढाएको छ।