ताप्लेजुङ, ११ मङ्सिर — श्रम संस्कृतिका पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साङ्पाङले आफू प्रधानमन्त्री बन्ने लक्ष्यसहित राजनीतिमा प्रवेश गरेको स्पष्ट पारेका छन्। फुङ्लिङमा बिहीबार आयोजित श्रम संस्कृति पार्टीको घोषणासभामा सम्बोधन गर्दै साङ्पाङले विदेशीय स्वार्थ र निर्देशमा नचली देशकै स्वाभिमानलाई केन्द्रमा राखेर काम गर्ने दाबी गरे।
साङ्पाङले भने पार्टीभित्र ‘नेता’ भन्ने छुट्टै संरचना नहुने र सबै सदस्य ‘श्रमदाता’ हुने व्यवस्था रहनेछ। बोल्ने स्वतन्त्रता रहने तर गलत बोलेका व्यक्तिलाई पार्टीमा बस्ने हक नहुने भन्दै उनले कुनै ‘वाद’को पछि नलाग्न आग्रह गरे। प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्था लागू भएपछि पार्टी र दल नै आवश्यक नपर्ने उनको तर्क थियो। ‘विद्यमान राजनीतिको फोहोर सफा गर्न मात्र मैले दल खोलेको हुँ,’ साङ्पाङले भने। उनले एमसीसी अनुमोदनमा भूमिका खेलेका राजनीतिक नेताहरूलाई ‘विदेशी दलाल’को संज्ञा दिँदै देश बेचेर सम्पन्न हुनेभन्दा श्रम गरेर इमानदार जीवन बिताउने व्यक्ति नै सम्मानयोग्य हुने बताए।
उर्जामन्त्री कुलमान घिसिङ नेतृत्वमा रहेको दललाई लक्षित गर्दै साङ्पाङले विदेशी ऋण र चाकरीको भरमा ‘बत्ति बाल्ने’ भन्दा आत्मसम्मानसहित ‘टुकी बालेर बस्न’ नै देशभक्ति भएको टिप्पणी गरे। एमसीसी पास गर्ने अभियानको सुरुवात स्वयं घिसिङले गरेको आरोप लगाउँदै उनले पहिचानवादी धारणाका नाममा कुलमानसँग जाने नेताहरूलाई ‘माटो नचिन्ने’ अभिव्यक्ति दिए। साङ्पाङले आफ्ना पार्टीका केही विशेषताहरू सार्वजनिक गर्दै झण्डाको प्रयोग नहुने, कार्यकर्ताले औजार बोक्ने, पत्रकार–शिक्षक–कर्मचारीलाई पार्टी सदस्यता नदिने बताए। विद्यालय शिक्षालाई तीन दिन कक्षाकोठामै सीमित गर्ने र बाँकी चार दिन व्यवहारिक शिक्षासहित बहुउपयोगी सिकाइ केन्द्रित कार्यक्रम संचालन गर्ने योजना उनले प्रस्तुत गरे।
उनका अनुसार पार्टी कार्यालय पनि हप्तामा तीन दिन मात्र खुल्नेछ र पूर्ण ‘पेपरलेस’ प्रणाली लागू हुनेछ। पार्टी प्रवेश गर्ने व्यक्तिहरूलाई ‘माटो छोएर शपथ’ गराइने तथा ‘तीन करोड नेपालीका ६ करोड हात एकैसाथ चलाउनुपर्छ’ भन्ने नारासहित सात दिनमध्ये एक दिन देशका लागि श्रमदान गर्ने व्यवस्था रहने उनले बताए।