आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News शंकास्पद गतिविधिमा संलग्न चार चिनियाँ नागरिक काठमाडौंबाट नियन्त्रणमा

शंकास्पद गतिविधिमा संलग्न चार चिनियाँ नागरिक काठमाडौंबाट नियन्त्रणमा

83

काठमाडौँ, २८ कार्तिक – नेपालमा व्यावसायिक भिसा लिएर बसेका चार चिनियाँ नागरिक शंकास्पद गतिविधिमा संलग्न रहेको प्रारम्भिक प्रमाण फेला परेपछि अध्यागमन विभागले शुक्रबार काठमाडौंको सोह्रखुट्टेस्थित मिलिजुली चोक, म्हैपीबाट एक महिला र तीन पुरुषलाई नियन्त्रणमा लिएको छ।

‘चाइनिज हाउजिङ’ भनेर चिनिने उक्त क्षेत्रमा बस्दै आएका उनीहरूले आफूले लिएका भिसासम्बन्धी कुनै जानकारी दिन नसकेको र आर्थिक हैसियत कमजोर नेपाली युवतीलाई जागिरको प्रलोभनमा पारी टिकटक बनाउने, चीनमा लिएर विवाह गराइदिने जस्ता गतिविधि गर्दै आएको विभागको अनुसन्धानमा खुलेको हो। उनीहरूले नेपाली युवतीलाई घर भाडामा लिएर राख्ने, विदेश भ्रमण गराउने तथा केही युवतीलाई चीनसमेत पठाएको पाइएको छ।

नियन्त्रणमा परेकामध्ये दुई जना दस वर्षदेखि नेपालमा विभिन्न भिसामा बस्दै आए पनि पासपोर्ट र भिसा नै देखाउन नसकेका र अध्यागमन तथा सुरक्षाकर्मीप्रति दुर्व्यवहार गरेको विभागले जनाएको छ। अध्यागमन ऐन र नियमावलीअनुसार भिसाको उद्देश्य विपरीत क्रियाकलापमा संलग्न विदेशीलाई जरिवाना गरी निष्कासन गर्न सकिने व्यवस्था रहेको र यसैअनुसार उनीहरूविरुद्ध कारवाही प्रक्रिया अघि बढाइने विभागले स्पष्ट पारेको छ।