आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News मधेश प्रदेशमा सत्ता सङ्कट गहिरियो : सभामुखद्वारा पाँच सांसद पदमुक्त, उपसभामुखद्वारा निर्णय बदर

मधेश प्रदेशमा सत्ता सङ्कट गहिरियो : सभामुखद्वारा पाँच सांसद पदमुक्त, उपसभामुखद्वारा निर्णय बदर

85

मधेस प्रदेश, २८ कार्तिक-  मधेस प्रदेशमा राजनीतिक तनाब चुलिएको छ। सभामुख रामचन्द्र मण्डलले पाँच जना प्रदेशसभा सदस्यलाई पदमुक्त गरेको सूचना जारी गरेलगत्तै उपसभामुख बबिता कुमारी राउत ईश्वरले सो निर्णय बदर गरेकी छन्।

सभामुख मण्डलले लगातार १० पटक प्रदेशसभा बैठकमा अनुपस्थित रहेको आरोप लगाउँदै नागरिक उन्मुक्ति पार्टीकी उर्मिला देवी सिंह, जसपाका मनिष कुमार सुमन, संजय कुमार यादव, सिंहासन सा कलवार तथा शारदा शंकर प्रसाद कलवारको पद रिक्त भएको सूचना विहीबार जारी गरेका थिए। तर सोही दिन उपसभामुख राउतले प्रतिवाद गर्दै पाँचै जना सांसद कात्तिक २२ गतेको विश्वासको मत सम्बन्धी बैठकमा उपस्थित रहेको प्रमाण हाजिरी र भिडियो रेकर्डमा स्पष्ट देखिएको बताइन्। त्यसैले सभामुखले जारी गरेको पद रिक्त सम्बन्धी सूचना अमान्य हुने उनले स्पष्ट पारिन्।

उनको सूचनामा भनिएको छ, “उक्त सूचनामा उल्लेख भएका सम्पूर्ण माननीयज्यूहरू २०८२/७/२२ गतेको बैठकमा उपस्थित रहेको हाजिरी तथा भिडियो रेकर्डबाट प्रमाणित भएकाले सो पद रिक्त सम्बन्धी सूचना बदर गरिएको व्यहोरा सम्पूर्ण सरोकारवालालाई जानकारी गराइन्छ।”

उपसभामुखले सभामुखको निर्णय ‘प्रतिशोध र आवेगमा आएको’ आरोप लगाउँदै हाल सभामुखविरुद्ध महाभियोग प्रस्ताव दर्ता भइसकेको स्थितिमा यस्ता निर्णयहरू उपयुक्त नरहेको टिप्पणी गरेकी छन्।