दाङ, २७ कार्तिक — नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य महेश बस्नेतले नेपाली राजनीतिक परिदृश्यमा अब कुनै पनि दलले एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने दाबी गरेका छन्। राष्ट्रिय युवा संघ नेपाल, लुम्बिनी प्रदेशले बिहीबार दाङको तुलसीपुरमा आयोजना गरेको प्रदेशस्तरीय जागरण सभालाई सम्बोधन गर्दै बस्नेतले एमाले नेपाली कम्युनिस्ट आन्दोलनको “सिंह”का रूपमा स्थापित भएको बताए।
उनले उदाहरण दिँदै भने, “एउटै घाटमा स्याल, कुकुर र बिरालो पानी खान आइरहेका छन् भने बुझ्नुपर्छ, माथिल्लो घाटमा सिंह एक्लै पानी खाइरहेको छ र त्यहाँ कसैले जाने हिम्मत गरिरहेको छैन। त्यसैले नेपाली कम्युनिस्ट आन्दोलनको सिंह भनेको नेकपा एमाले हो। ”बस्नेतले एमालेको लामो इतिहास, सुदृढ संगठन र व्यापक जनसमर्थनका कारण अन्य कुनै दलले प्रतिस्पर्धा गर्न नसक्ने ठोकुवा गरे।
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति राज्य संयन्त्र प्रयोग गरी गरिएको व्यवहारप्रति असन्तोष पनि व्यक्त गरे। “एमालेका कुनै नेतामाथि बयानका नाममा दुःख दिने काम भयो भने एक लाख युवाले सिंहदरबार घेराउ गर्नेछ,” बस्नेतले चेतावनी दिए। कार्यक्रममा राष्ट्रिय युवा संघका केन्द्रीय र प्रदेशस्तरीय नेताहरूको पनि सहभागिता रहेको थियो। बस्नेतले युवाहरूलाई संगठनप्रतिको आस्था र राजनीतिक सचेतनामा केन्द्रित हुन आग्रह गरे।