आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान

नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान

118

काठमाडौँ, २७ कार्तिक — नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई आज गृह मन्त्रालयमा आयोजित एक विशेष समारोहमा दर्ज्यानी चिन्ह (फुली) प्रदान गरिएको छ। गृह सचिव रामेश्‍वर दंगालले उनलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई नेपाल प्रहरीको ३३औं महानिरीक्षक (आईजीपी)मा नियुक्त गर्ने निर्णय गरेको थियो। दर्ज्यानी चिन्ह ग्रहण गरेपछि आईजीपी कार्कीले पत्रकारहरूसँग कुरा गर्दै प्रहरी संगठनको मनोबल उकास्दै पारदर्शिता र सामूहिक भावना अनुरूप संगठनलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। उनले प्रहरी संगठनलाई सुदृढ नेतृत्व र इमानदारीताका साथ सञ्चालन गर्ने दृढता व्यक्त गरे।

पूर्व आईजीपी चन्द्र कुवेर खापुङ ३० वर्षे सेवा अवधि पूरा गरी बुधबार अनिवार्य अवकाशमा गएका थिए। कार्कीले २०५४ साल चैतमा प्रहरी निरीक्षकको रूपमा नेपाल प्रहरीमा सेवा प्रवेश गरेका थिए।

२०२९ साउनमा गुल्मी जिल्लाको मालिका गाउँपालिकामा जन्मिएका कार्की संगठनभित्र एक कुशल, इमानदार र क्षमतावान प्रहरी अधिकृतका रूपमा परिचित छन्। कार्की हाल उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुखका रूपमा कार्यरत थिए।

जेन–जी आन्दोलनपछि अस्तव्यस्त बनेको उपत्यकाको सुरक्षात्मक कमाण्ड सम्हाल्न उनी २४ भदौमा उपत्यका प्रहरी प्रमुखको जिम्मेवारीमा आएका थिए। उनी २०८२ वैशाख १५ मा डीआईजीबाट एआईजीमा बढुवा भएका थिए र त्यसको केहि महिनापछि प्रहरी महानिरीक्षकको जिम्मेवारी पाएका हुन्। ३० वर्षे सेवा अवधि कायम रहेमा कार्की २०८४ साल चैतसम्म नेपाल प्रहरीका महानिरीक्षक रहनेछन्।