आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News गृह मन्त्रालयको कार्यसम्पादनप्रति संयोजक सुदन गुरुङको असन्तुष्टि

गृह मन्त्रालयको कार्यसम्पादनप्रति संयोजक सुदन गुरुङको असन्तुष्टि

87

काठमाडौं, २७ कार्तिक — हामी नेपालका संयोजक सुदन गुरुङले वर्तमान सरकारको नेतृत्वमा रहेको गृह मन्त्रालयले अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। बिहीबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै गुरुङले आफूहरूले अनुहार परिवर्तनका लागि मात्र होइन, पुरानो व्यवस्था परिवर्तनका लागि आन्दोलन गरेको स्मरण गराउँदै गृह मन्त्रालयले जनअपेक्षा पूरा गर्न नसकेको बताएका छन्।

गृहमन्त्रीको कार्यसम्पादनमाथि प्रश्न उठाउँदै गुरुङले भने, “गृहमन्त्रीले काम गर्न नसक्ने हो भने आफ्नो विज्ञता अनुसार काम गर्नुपर्छ। अपेक्षा अनुसारको काम पनि छैन र राजीनामा पनि आएको छैन भने विकल्प सोच्नुपर्छ।”

उनका अनुसार जनताको मन जित्ने र राम्रो काम गरेर विश्वास कायम गर्ने जिम्मेवारी सरकारको हुन्छ, तर गृह मन्त्रालयले त्यो भूमिका निर्वाह गर्न सकेको छैन।

गुरुङले सुरुमा गृह मन्त्रालयले केही सकारात्मक काम गरे पनि पछि मन्त्रालयभित्रको संगठनात्मक असहयोगका कारण काम प्रभावकारी हुन नसकेको बताएका छन्। उनले भने, “यो सरकार मेरो वा केही व्यक्तिको मात्र होइन, सम्पूर्ण जेनजी र जनताको सरकार हो। त्यसैले सोही अनुसार जिम्मेवारीपूर्वक काम गर्नुपर्छ।”

जेनजी आन्दोलनले सक्षम र योग्य व्यक्तिलाई उचित स्थानमा पुर्‍याउन तथा राम्रो शासन र पारदर्शिताका लागि आवाज उठाउँदै आएको गुरुङले उल्लेख गरे।