काठमाडौँ, २५ कार्तिक : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई चार महिनाभन्दा बढी टिक्न नसक्ने दाबी गर्दै मन्त्रीहरूलाई संयमित रहन चेतावनी दिएका छन्। पार्टीको ‘घर फर्क राष्ट्रिय अभियान’ घोषणा कार्यक्रममा सोमबार बोल्दै ओलीले भने ‘सरकारका मन्त्रीजीहरूलाई म धेरै जिब्रो नचलाउन आग्रह गर्न चाहन्छु। अलिकति सम्हालिएर बोल्ने, व्यवहार गर्ने गर्नुपर्छ।’ सरकारका पछिल्ला गतिविधिहरू गैरजिम्मेवार र कूटनीतिक मर्यादाविपरीत भएको आरोप लगाए।
उनले राजदूत फिर्ता बोलाउने सरकारको निर्णयलाई कूटनीतिक अज्ञानता र अपरिपक्वताको उदाहरण बताउँदै आलोचना गरे। ओलीले राजदूतहरूलाई कर्मचारीझैँ व्यवहार गर्न नहुने र सरकारले कानुनी प्रक्रिया नबुझेको टिप्पणी गरे।
सरकार चुनाव गराउन होइन, अन्य उद्देश्यका लागि बनेको दाबी गर्दै ओलीले फागुन २१ गतेभित्र चुनाव गराउने संवैधानिक दायित्वबाट सरकार पन्छिन खोजिरहेको बताए। उनले असंवैधानिक गतिविधि सच्याएर देशलाई लोकतान्त्रिक ट्रयाकमा फर्काउनु अहिलेको आवश्यकता रहेको बताएका छन्।