जनकपुरधाम, २४ कार्तिक — मधेस प्रदेशमा नयाँ मुख्यमन्त्रीको नियुक्तिलाई लिएर राजनीतिक तनाव तीव्र बनेको छ। आज (सोमबार) सात राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूले मुख्यमन्त्री कार्यालयमा प्रवेश गरी तोडफोड गरेका छन्।
तोडफोडमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, जनता समाजवादी पार्टी (जसपा) र नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सांसद तथा कार्यकर्ताहरू संलग्न रहेको बताइएको छ।
प्रत्यक्षदर्शीका अनुसार आन्दोलनकारी सांसदहरू कार्यालयभित्र प्रवेश गरी कार्यकक्षका सामानहरू तोडफोड गरेका थिए। सो क्रममा नेपाली कांग्रेसका प्रदेश सांसद वीरेन्द्रकुमार सिंहले कार्यालयमा राखिएको नेपालको राष्ट्रिय झण्डा निकालेर फालेका छन्। सिंहले झण्डा फालिरहेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।
आन्दोलनकारीहरूले नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवविरुद्ध नाराबाजी गर्दै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको राजीनामाको माग समेत गरेका छन्। उनीहरूका अनुसार मुख्यमन्त्री नियुक्तिको प्रक्रिया संविधान र परम्पराको उल्लङ्घन गरेर गरिएको हो।
प्रदेश प्रमुख भण्डारी उपचारका लागि काठमाडौं जाँदै गरेको बेला नै कटेजमै नवनियुक्त मुख्यमन्त्री यादवलाई पद तथा गोपनीयताको शपथ खुवाएको आरोप लगाइएको छ। सो घटनापछि मधेस प्रदेशमा राजनीतिक वातावरण तनावपूर्ण बनेको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार घटनास्थलमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ।