आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News मधेस प्रदेशमा एमाले नेता सरोज कुमार यादव मुख्यमन्त्री नियुक्त, कांग्रेसले भन्यो – ‘संविधानविपरीत र निन्दनीय कदम’

मधेस प्रदेशमा एमाले नेता सरोज कुमार यादव मुख्यमन्त्री नियुक्त, कांग्रेसले भन्यो – ‘संविधानविपरीत र निन्दनीय कदम’

134

जनकपुरधाम, २४ कार्तिक। मधेस प्रदेशमा राजनीतिक घटनाक्रम तीव्र बन्दै गएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एमाले संसदीय दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी छिन् । तर, यो कदमलाई नेपाली कांग्रेसले ‘संविधानविपरीत’ र ‘संघीयतामाथिको प्रहार’ भन्दै कडा आपत्ति जनाएको छ ।

प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १०३ बमोजिम कात्तिक २३ गतेको पत्रका आधारमा यादवलाई आज बिहान मुख्यमन्त्री पदमा नियुक्त गरेकी थिइन् । अस्वस्थ भएर काठमाडौं जान लागेकी भन्दै निवासबाट निस्केकी उनले महोत्तरीको बर्दिबासस्थित पानस होटलमा मुख्यमन्त्री पदको शपथ खुवाएकी थिइन् ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले फेसबुकमार्फत घटनाप्रति कडा आपत्ति जनाउँदै लेखेका छन्, “मधेश प्रदेशमा भएको अ–राजनीति दुःखद छ । यसले नागरिक पंक्तिमा संघीयताप्रति वितृष्णा बढाउने काम गरेको छ । यस्तो निन्दनीय कार्यले संविधान र लोकतान्त्रिक मूल्यहरूमाथि प्रहार गरेको छ ।”

शर्माले अझ भनेका छन्, “संविधानको धारा १६८ (२) बमोजिम सरकार गठन हुने सम्भावना कायम छँदै धारा १६८ (३) अनुसार नयाँ सरकार गठन गरिनु असंवैधानिक हो । बहुमत दल र प्रदेश सभा सदस्यहरूको मागमा न्यायालयले यो प्रहसन सच्याउने हामीलाई विश्वास छ ।”

कांग्रेसले मधेश प्रदेशमा आफू सबैभन्दा ठूलो दल भएको र त्यसको नेतृत्वमा सरकार गठन हुनुपर्ने दाबी गर्दै आएको छ । तर, प्रदेश प्रमुखले एमालेका नेता सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि प्रदेशको राजनीतिमा थप तरंग आएको छ ।

यस घटनाले मधेश प्रदेश मात्र नभई समग्र संघीयताको अभ्यासप्रति पनि प्रश्न उठाएको कांग्रेसको आरोप छ । अहिले नयाँ मुख्यमन्त्री सरोज यादवले सरकार गठनका लागि समर्थन जुटाउने तयारी थालेका छन् भने कांग्रेसले न्यायिक मार्गबाट यसको विरोध गर्ने बताएको छ ।