काठमाडौं, २०८२ मंसिर २३।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरकारी सेवामा कार्यरत शिक्षक, प्राध्यापक र कर्मचारीलाई राजनीतिक गतिविधिमा संलग्न नहुन चेतावनी दिएको छ। मन्त्रालयले जारी गरेको सूचनामा राजनीतिक संलग्नता वा दलसम्बद्ध संगठनमा आवद्धता देखिएमा पदबाट बर्खास्त गर्न सकिने उल्लेख गरिएको छ। मन्त्री महावीर पुनले हस्ताक्षर गरेको सूचनामा भनिएको छ—
“सरकारी सेवामा कार्यरत शिक्षक, प्राध्यापक तथा कर्मचारीले व्यावसायिक संगठनको नाममा राजनीतिक गतिविधि सञ्चालन गर्न नपाउने व्यवस्था रहेको हुँदा यसबारे ध्यानाकर्षण गराइन्छ।”
सूचनामा मन्त्रालयका आधिकारिक इमेल, टेलिफोन, वा सामाजिक सञ्जालमार्फत विद्यार्थी, शिक्षक र अभिभावकले पठाएका गुनासा र टिप्पणीहरूका आधारमा राजनीतिक चरित्र देखिने गतिविधि भइरहेको पाइएकाले यसबारे स्पष्ट निर्देशन जारी गरिएको उल्लेख छ। मन्त्रालयले शिक्षक महासंघ, प्राध्यापक संघ लगायतका विभिन्न संगठनहरूलाई राजनीतिक दलसँग सम्बन्ध राखी सञ्चालन गरिएको पाइएमा त्यसलाई मान्यता नदिने जनाएको छ। साथै, ती संगठनहरूलाई स्वतन्त्र र व्यावसायिक संगठनको रूपमा पुनर्गठन गर्न आह्वान गरिएको छ।
सूचनामा भनिएको छ,“शिक्षा क्षेत्रमा कार्यरत कर्मचारीहरूले पेसागत हकहितका लागि मात्र क्रियाकलाप गर्न सक्नेछन्, राजनीतिक दलको गतिविधिमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न भई पद दुरुपयोग गर्ने कार्य सह्य हुने छैन।”
मन्त्रालयले विद्यालय, कलेज र विश्वविद्यालयमा शान्त र शिक्षामुखी वातावरण कायम गर्न सबैलाई आह्वान गर्दै कानुन विपरीतका गतिविधि भए कारबाही गरिने चेतावनी दिएको छ।
