आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News मेयर बालेन शाहमाथि दुर्गा प्रसाइको तिखो प्रहार, “जसले तपाईंको घर भत्काउन आउँछ, त्यसको घर भत्काउनुस्

मेयर बालेन शाहमाथि दुर्गा प्रसाइको तिखो प्रहार, “जसले तपाईंको घर भत्काउन आउँछ, त्यसको घर भत्काउनुस्

132

काठमाडौं, २३ कात्तिक — काठमाडौं महानगरपालिकाले नदी किनार र सार्वजनिक जग्गामा रहेका सुकुमवासी बस्तीहरू हटाउने अभियानलाई तीव्रता दिएसँगै मेडिकल व्यवसायी दुर्गा प्रसाईंले त्यसको कडा विरोध गरेका छन्।

सुकुमवासी बस्तीमा पुगेका प्रसाईंले महानगरको अभियानविरुद्ध आक्रोशपूर्ण अभिव्यक्ति दिँदै मेयर बालेन शाहमाथि तीव्र प्रहार गरे। उनले सर्वसाधारणलाई आदेश गर्दै भने, “जसले तपाईंको घर भत्काउन आउँछ, त्यसको घर भत्काउनुस्। जसले लछार पछार गर्छ, त्यसको श्रीमतीमाथि जाइलाग्नुस्।”

प्रसाईंले काठमाडौं महानगरका प्रमुख बालेन शाह र पूर्वन्यायाधीश सुशीला कार्कीलाई ‘तिनीहरूको सरकार’ भन्दै आलोचना गर्दै सुकुमवासीहरूको घर भत्काउने कार्य रोक्न चेतावनी दिए। प्रसाईले भने सुकुमवासी समस्या हटाएर होइन, समाधान गरेर मात्र देश बन्न सक्छ।

उनले मेयर शाहलाई चुनौती दिँदै भने, “बालेन जी, तपाईंको दम छ भने बालमन्दिर उठाउनुस्, पशुपति खाली गर्नुस्, बसन्त चौधरीले हडपेको नर्भिक अस्पतालको जग्गा खाली गर्नुस्। अनि मात्रै सुकुमवासी हटाउन आउनुस्।”

प्रसाईंले सुकुमवासीको समस्या २०५८ सालदेखि निरन्तर रहेको बताउँदै भने, “यदि महानगरसँग बजेट छ भने सुकुमवासीहरूका लागि घर बनाएर दिनुस्। एसी रुममा बसेर दारु खाने र गरिबलाई खेद्ने काम गर्नु भनेको असमानताको प्रवर्द्धन हो।”

उनका अनुसार, शहर सुन्दर बनाउने नाममा गरिबमाथि अन्याय भइरहेको छ। “एउटा गरिबको छोरो वा छोरी सागको मुठो बेच्छ, मकै पोल्छ, सडकको डिलमा बसेर बाँच्ने प्रयास गर्छ। तर शहर सुन्दर बनाउने भन्दै उनीहरूलाई लात हानेर खेदिन्छ। यस्तो शहर कस्तो सुन्दर?” प्रसाईंले प्रश्न गरे।

यसैबीच, काठमाडौं महानगरपालिकाले भने सार्वजनिक जमिन अतिक्रमण गरी बनाइएका अवैध संरचना हटाउने कार्य आफ्नो नियमित अभियान भएको स्पष्ट पारेको छ। महानगरका अनुसार, नदी किनार, सार्वजनिक बगैंचा र सरकारी जग्गा जोगाउनका लागि अवैध संरचना भत्काउने कार्य निरन्तर जारी रहनेछ।