काठमाडौँ, २० कार्तिक — लामो समयदेखि बक्यौता रकम तिर्न ढिलाइ गर्दै आएको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले अन्ततः नेपाल विद्युत प्राधिकरणलाई आफ्नो बक्यौता रकमको पहिलो किस्ता तिरेको छ। किस्ता नतिरेसम्म बिजुली लाइन पुनः जडान नहुने प्राधिकरणको चेतावनीपछि कम्पनीले २ करोड ७७ लाख रुपैयाँ भुक्तानी गरेको हो।
प्राधिकरणका अनुसार, कम्पनीले कुल बक्यौता रकम ७५ करोड ३७ लाख रुपैयाँलाई २८ किस्तामा तिर्ने सम्झौता गरेको छ। सोही सम्झौताअनुसार पहिलो किस्ता बुझाइसकेपछि अझै करिब ७२ करोड ६० लाख रुपैयाँ तिर्न बाँकी रहेको प्राधिकरणका एक अधिकारीले जनाएका छन्।
बक्यौता रकम तिर्न ढिलाइ भएपछि प्राधिकरणले केही समयअघि रिलायन्स स्पिनिङ मिल्सको बिजुली लाइन काटेको थियो। तर, पहिलो किस्ता तिरेसँगै प्राधिकरणले लाइन पुनः जडान गरेको र यससँगै लामो समयदेखि बन्द रहेको उद्योग पुनः सञ्चालनमा आएको जनाएको छ।
कम्पनीका स्रोतका अनुसार, बाँकी रकम भुक्तानीका लागि रिलायन्स स्पिनिङ मिल्सले निकट भविष्यमा सार्वजनिक निष्कासन ९क्ष्एइ० मार्फत पूँजी जुटाउने तयारी गरेको छ। यसअघि बक्यौता तिर्न नसकेकै कारण कम्पनीको आइपिओ प्रक्रिया स्थगित गरिएको थियो।
विद्युत प्राधिकरणले लामो समयदेखि बक्यौता रकम तिर्न ढिलाइ गर्ने उद्योगहरूलाई किस्ताबन्दी सुविधा प्रदान गर्दै आएको छ। रिलायन्स स्पिनिङ मिल्सले पहिलो किस्ता बुझाएपछि उद्योग क्षेत्रबाट पनि सकारात्मक सन्देश गएको प्राधिकरणको मूल्याङ्कन छ।