काठमाडौं, १९ कात्तिक – नेपाली वाम राजनीतिमा नयाँ अध्यायको सुरुवात भएको छ। विभिन्न कम्युनिष्ट घटकहरूबीच एकता गर्दै नयाँ नेपाली कम्युनिष्ट पार्टी को औपचारिक घोषणा गरिएको छ। राजधानी काठमाडौंको भृकुटीमण्डपमा आयोजित भव्य समारोहकाबीच बुधबार पार्टी एकताको घोषणा गरिएको हो।
घोषणा सभामा पार्टीका नेताहरू, कार्यकर्ताहरू, शुभेच्छुकहरू तथा सर्वसाधारणको ठूलो उपस्थिति रहेको थियो। कार्यक्रममा एकतासँगै नयाँ पार्टीको नेतृत्व संरचना पनि सार्वजनिक गरिएको छ।
पार्टीका संयोजकका रूपमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजकका रूपमा माधवकुमार नेपाल लाई तोक्ने प्रस्ताव प्रस्तुत गरिएको थियो। उक्त प्रस्ताव पार्टीका नेता महेन्द्रराय यादव ले राखेका थिए, जसलाई हलबाट सर्वसम्मत रूपमा पारित गरिएको हो |
नयाँ पार्टी गठनसँगै देशभरका वामपन्थी कार्यकर्ताहरूमा उत्साह र एकताको सन्देश फैलिएको छ। नेताहरूले एकीकृत पार्टीले देशमा राजनीतिक स्थायित्व, समृद्धि र समाजवादको आधार निर्माणमा योगदान पुर्याउने बताएका छन्। कार्यक्रममा वक्ताहरूले विगतका कमजोरीहरूमाथि आत्म–समीक्षा गर्दै जनताको विश्वास जित्ने नयाँ अभियान सुरु हुने प्रतिबद्धता व्यक्त गरेका थिए।