आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News सिटौलाद्वारा महामन्त्री गगन थापालाई चरित्र सुधार गर्न चेतावनी

सिटौलाद्वारा महामन्त्री गगन थापालाई चरित्र सुधार गर्न चेतावनी

134

काठमाडौँ, १८ कार्तिक — नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीका महामन्त्री गगनकुमार थापालाई आफ्नो चरित्र र कार्यशैलीमा तत्काल सुधार ल्याउन चेतावनी दिएका छन्।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा धारणा राख्दै, नेता सिटौलाले फेसबुक र सामाजिक सञ्जालमार्फत् पार्टी नेतामाथि टिप्पणी गर्ने प्रवृत्तिको कडा विरोध गरे।

“नेतालाई गाली गर्ने सचिवालय तत्काल बन्द गर्नुपर्छ। यसप्रकारका क्रियाकलापले पार्टीको अनुशासन र एकतामा गम्भीर असर पार्छ,” सिटौलाले बैठकमा चेतावनी दिँदै भने।

पूर्वमहामन्त्री सिटौलाले पार्टीको विधानअनुसार सभापति चयनको प्रक्रिया स्पष्ट रहेको उल्लेख गर्दै भने, “फेसबुकबाट सभापति छान्ने विधान छैन। सामाजिक सञ्जालमा लेखेर पार्टी कब्जा गर्न खोजिएको हो कि भन्ने प्रश्न उठ्न थालेको छ।”

त्यसक्रममा उनले महामन्त्री थापालाई सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्नुको सट्टा बैठकमा खुलेर बोल्न सुझाव दिए। “पार्टीको निर्णय र छलफलको थलो यही हो। यदि केही भन्नु छ भने यहाँ भन्नुहोस्, फेसबुकमा होइन,” सिटौलाले भनेका थिए।

बैठकमा अन्य नेताहरुले पनि पार्टीभित्रको आन्तरिक असन्तोष सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभन्दा संस्थागत संयन्त्रमार्फत समाधान खोज्नुपर्नेमा जोड दिएका थिए।