126
रौतहट १७ कार्तिक — रौतहटको माधव नारायण नगरपालिकाका नगरप्रमुख बैजनाथ यादव र निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र राय यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारसम्बन्धी उजुरी दर्ता भएको छ।
माधव नारायण–३ का आशितोषकुमार यादवले दिएको उजुरीमा आर्थिक अनियमितता, फर्जी बिल तयार गरी भुक्तानी गरेको र सरकारी सम्पत्ति हिनामिना गरेको आरोप लगाइएको छ। उजुरीमा २० प्रतिशत कमिसन लिएर उपभोक्ता समीतिलाई भुक्तानी दिएको, योजना टुक्र्याएर बजेट दुरुपयोग गरेको र नक्कली बिल मार्फत सडक बत्ती न्यून दरमा खरिद गरेर १० गुणा बढी रकम भुक्तानी गरेको आरोप सहित निवेदन दर्ता भएको छ।
अख्तियारले उजुरीका आधारमा प्रारम्भिक अनुसन्धान अघि बढाएको छ। अख्तियारका अनुसार नगरपालिकामा बोलपत्र प्रक्रिया र भुक्तानीमा अनियमितता भएको प्रारम्भिक तथ्य देखिएको छ।