आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News प्रधानमन्त्री सुशीला कार्कीको निर्देशन: ‘पहुँचका भरमा भर्ती भएका करार कर्मचारी तत्काल हटाउनुस्’

प्रधानमन्त्री सुशीला कार्कीको निर्देशन: ‘पहुँचका भरमा भर्ती भएका करार कर्मचारी तत्काल हटाउनुस्’

151

काठमाडौँ, १६ कार्तिक — प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगममा पहुँचका आधारमा भर्ती गरिएका करारका कर्मचारीलाई तत्काल हटाउन निर्देशन दिएकी छन्। पर्यटन मन्त्रीको जिम्मेवारी समेत सम्हालिरहेकी प्रधानमन्त्री कार्कीले आइतबार सिंहदरबारमा निगमको सञ्चालक समिति र व्यवस्थापनका अधिकारीहरूलाई बोलाएर सो निर्देशन दिएकी हुन्।

प्रधानमन्त्री कार्कीले हालैको आन्दोलन र जन भावनाको सन्दर्भ उल्लेख गर्दै भनिन्,-“जेन–जेडहरूले यत्रो रगत बगाएको केका लागि हो? यस्तै नातावाद, कृपावाद र विभेद अन्त्यका लागि होइन? यता आन्दोलन भइरहेका छन्, उता भटाभट आफ्ना मान्छे भर्ती गरिन्छ— यो कति ठूलो बेथिति हो?”

उनले अवकाश नजिकिएका व्यक्तिहरूले समेत मनपरी गरी करार नियुक्ति दिइरहेको भन्दै असन्तुष्टि व्यक्त गरिन्।  “अवकाश पाएर घर जान लाग्दा पनि मनपरी गर्न छाडिएको छैन। यस्तो प्रवृत्ति अब स्वीकार्य हुँदैन,” उनले थपिन्। प्रधानमन्त्री कार्कीले वायु सेवा निगमको संगठनात्मक सुधार, पारदर्शिता र कार्यक्षमता बढाउन तत्काल कदम चाल्न निर्देशन दिँदै नातावाद र पहुँचको राजनीतिलाई अन्त्य गर्नुपर्नेमा जोड दिइन्।