काठमाडौँ, १६ कार्तिक: भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा नेकपा (एमाले) का नेता महेश बस्नेतले आफूहरू भागेको भन्ने आरोप अस्वीकार गरेका छन्। आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले त्यो दिन एमाले नेताहरू “भागेका होइन, सुरक्षित बसेका” दाबी गरेका हुन्।
बस्नेतले भने, “भदौ २३ र २४ गते तिमिहरू भाग्यौ भन्छन्। जसरी भूकम्पको बेला हामी सबै घरबाट निस्कियौँ, जो निस्किएनन् जीर्ण घर भएका बिते। त्यसैगरी हामी पनि सुरक्षित हुन निस्किएका थियौं, सुरक्षित बसेका थियौं।”
उनका अनुसार आन्दोलनको क्रममा भएको हिंसा कुनै सामान्य राजनीतिक प्रदर्शन नभई आतंककारी गतिविधि थियो। उनले भने, “जेन–जीका नाममा नेपाली मन भएका र नेपालीले सिंहदरबार जलाउन सक्दैन। जलाउनेहरू आतंककारी हुन्। आतंककारीबाट हामी त्यो दिन बचेकै हौं।” बस्नेतले सर्वोच्च अदालत जलाउने कार्यलाई पनि आतंककारी प्रवृत्तिको संज्ञा दिँदै भने, “त्यो लुसिफर हो। त्यो दिन हामी सुरक्षित बसेकै हो।”
उनले राजनीतिक दलहरूका गतिविधि केही समय स्थिर भएको भन्दै दलहरू सकिएका होइनन् भन्ने चेतावनी पनि दिए। “दलहरूका गतिविधि छैनन् भन्दैमा दलहरू सकिएका होइनन्,” उनले भने, “तिम्रा गुरुबालाई गएर सोध जसले तिमीलाई उचालेको छ, जसले तिमीलाई भड्काएको छ, जसले बारबरा फाउन्डेसनका नाममा नेपालमा लगानी गरेको छ। तिम्रो गुरुबाउ, गुरुआमाको देशमा लोकतन्त्र छ कि छैन, त्यो बुझ।”
बस्नेतले भने, आन्दोलनको नाममा विदेशी शक्तिको प्रभाव र आतङ्क फैलाउने तत्वहरू सक्रिय रहेको दाबी उनले गरेका छन्।