आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News १८ वर्षपछि महाकाली सिँचाइ आयोजना २७ प्रतिशतमा सिमित, नौ अर्ब खर्च सुस्त प्रगति

१८ वर्षपछि महाकाली सिँचाइ आयोजना २७ प्रतिशतमा सिमित, नौ अर्ब खर्च सुस्त प्रगति

119

महेन्द्रनगर १४ कार्तिक : कञ्चनपुर र कैलालीको ३३ हजार ५२० हेक्टर जमिन सिँचाइ गर्ने लक्ष्यसहित १८ वर्षअघि सुरु गरिएको महाकाली सिँचाइ आयोजना अझै २७ प्रतिशतमै सीमित छ। हालसम्म आयोजनामा करिब नौ अर्ब रुपैयाँ खर्च भइसकेको छ।

आयोजनाको सुस्त प्रगतिका कारणहरूमा बजेट अभाव, जग्गा मुआब्जा वितरणमा ढिलाइ र वन क्षेत्र व्यवस्थापनमा समस्या प्रमुख रहेका छन्। आयोजनाका सिनियर डिभिजन इन्जिनियर राजेशभक्त पोखरेलका अनुसार, ‘मुआब्जामा स्थानीय असन्तुष्टि, जग्गा व्यवस्थापन र समयमा वन क्षेत्रको स्वीकृति नहुँदा काम अघि बढ्न सकेको छैन।’

हाल आयोजना अन्तर्गत कैलालीको मालाखेतीसम्म १९ किलोमिटर मूल नहर निर्माणका लागि रु १ अर्ब ९७ करोडको सम्झौता गरी चार चरणमा निर्माण कार्य जारी रहेको इन्जिनियर पोखरेलले बताए। हालसम्म ब्रह्मदेवदेखि शुक्लाफाँटा नगरपालिकाको फुलेलीसम्म २८.८ किलोमिटर मूल नहर निर्माण भइसकेको छ।

महाकाली सन्धिअनुसार भारतीय पक्षले पनि टनकपुरदेखि नेपाल–भारत सिमानासम्म १,२०० मिटर नहर निर्माण सम्पन्न गरिसकेको छ। सरकारले आगामी २०८७ सालभित्र कैलालीको मालाखेतीसम्म नहर निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ।