आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News काठमाडौं महानगरपालिका र उपत्यका विकास प्राधिकरणको सात दिने अल्टिमेटम : अतिक्रमित संरचना हटाउन निर्देशन

काठमाडौं महानगरपालिका र उपत्यका विकास प्राधिकरणको सात दिने अल्टिमेटम : अतिक्रमित संरचना हटाउन निर्देशन

122

काठमाडौं, १४ कात्तिक – काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणले महानगरभित्रका अतिक्रमित जग्गा र मापदण्ड विपरीत निर्माण भएका संरचना हटाउन सात दिनको अल्टिमेटम जारी गरेका छन्।

गत असोज २ गते बसेको दुबै निकायबीचको संयुक्त बैठकले सार्वजनिक स्थानहरूमा फैलिएको अतिक्रमण र अनियमित संरचनालाई नियन्त्रण गर्न तत्काल कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो। सो निर्णयअनुसार शुक्रबार दुबै संस्थाले संयुक्त रूपमा सार्वजनिक सूचना जारी गर्दै सात दिनभित्र अतिक्रमित क्षेत्र खाली गर्न निर्देशन दिएका हुन्।

सूचनामा महानगरपालिका क्षेत्रभित्रका साथै सिमाना जोडिएका काठमाडौं जिल्लाभित्र रहेका सडक, नाली, सार्वजनिक पार्क, खुला स्थान तथा अन्य सरकारी जग्गामा बनाइएका अवैध संरचना, पर्खाल, पसल, टहरा लगायतका निर्माण स्वेच्छाले हटाउन भनिएको छ। तोकिएको समयभित्र नहटाए कानुनी प्रक्रिया अघि बढाई बल प्रयोग गरेर खाली गराइने चेतावनी समेत दिइएको छ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले सामाजिक सञ्जालमार्फत सार्वजनिक सम्पत्तिमाथिको अतिक्रमण सह्य नहुने भन्दै सबैलाई स्वेच्छाले संरचना हटाउन आग्रह गरेका छन्। उनले महानगर र प्राधिकरण मिलेर उपत्यकाको संरचनागत योजना र सौन्दर्य संरक्षणका लागि आवश्यक कदम चालिएको बताए।

काठमाडौं उपत्यका विकास प्राधिकरणका अनुसार अतिक्रमण र अवैध संरचना हटाउने अभियान स्थायी रुपमा सञ्चालन गरिनेछ, जसअन्तर्गत प्रमुख सडक, नदीकिनार, र खुला स्थानहरू प्राथमिकतामा राखिने छन्।

यस अभियानलाई प्रभावकारी बनाउन महानगरपालिका, प्राधिकरण, प्रहरी प्रशासन र सम्बन्धित निकायहरूबीच समन्वय गरी संयुक्त अनुगमन टोली गठन गरिएको छ।