आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News मुख्यमन्त्री सोनल र पौलिन सिनन नेतृत्वको टोलीबीच शिष्टाचार भेटवार्ता

मुख्यमन्त्री सोनल र पौलिन सिनन नेतृत्वको टोलीबीच शिष्टाचार भेटवार्ता

120

जनकपुरधाम, १३ कार्तिक — मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनल र नेपालका लागि बेलायती राजदूतावासको विकास कार्यक्रम प्रमुख पौलिन सिनन नेतृत्वको टोलीबीच बिहीबार जनकपुरधाममा महत्त्वपूर्ण शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ।

भेटका क्रममा मुख्यमन्त्री सोनलले मधेस प्रदेश सरकारका प्राथमिकतामा रहेका शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको दिगो विकासका लागि विकास साझेदारहरूको सहयोग अपरिहार्य रहेको उल्लेख गर्दै, प्रदेश सरकार अन्तर्राष्ट्रिय साझेदारहरूसँग सहकार्यका लागि पूर्ण रूपमा तयार रहेको बताएका छन्। उनले बेलायती दूतावास जस्ता साझेदारहरूको सहकार्यबाट प्रदेशको चौतर्फी विकास र जनताको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

बेलायती टोलीकी प्रमुख पौलिन सिननले मुख्यमन्त्री सोनलद्वारा प्रस्तुत प्राथमिकता र प्रदेश सरकारका विकास योजनाहरूलाई समर्थन जनाउँदै, बेलायती दूतावास मधेस प्रदेशको समृद्धिमा साझेदार बन्न इच्छुक रहेको बताइन्। उनले आगामी दिनमा सम्भावित सहकार्यका क्षेत्रमा गहन छलफल र योजनाबद्ध साझेदारी अघि बढाइने प्रतिबद्धता जनाइन्।

भेटमा प्रदेश सरकारका उच्च अधिकारीहरू र बेलायती दूतावासका प्रतिनिधिहरूको समेत उपस्थिती रहेको थियो। यस शिष्टाचार भेटले मधेस प्रदेशको विकास र समृद्धिमा बेलायतको सहयोग अझ सुदृढ हुने अपेक्षा गरिएको छ।