आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण

प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण

100

काठमाडौँ १३ कार्तिक । प्रधानमन्त्री सुशीला कार्कीले पछिल्ला दिनमा विभिन्न सञ्चार माध्यममार्फत गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले दबाब दिइरहेको भन्ने विषयमा आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएकी छिन्।

प्रधानमन्त्री कार्यालयका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठद्वारा बिहीबार जारी विज्ञप्तिमा प्रधानमन्त्री कार्कीले यस्ता समाचारहरू पूर्णतः भ्रमपूर्ण र तथ्यहीन रहेको स्पष्ट पारेकी छन्। विज्ञप्तिमा भनिएको छ, “कसैलाई मन्त्री बनाउने वा हटाउने विषय प्रधानमन्त्रीको विशुद्ध अधिकारक्षेत्रमा पर्छ, र यस्तो निर्णय कुनै व्यक्तिको दबाब वा प्रभावमा हुने प्रश्नै उठ्दैन।”

विज्ञप्तिमा प्रधानमन्त्री कार्कीले हालको सरकार ‘जेनजी आन्दोलन’ बाट प्राप्त जनादेश अनुसार गठन भएको र गृहमन्त्री अर्यालले असामान्य परिस्थितिमा राष्ट्रको गहन जिम्मेवारी वहन गरिरहेका उल्लेख गरेकी छन्। उनले आगामी निर्वाचन सम्पन्न गर्न, शान्ति–सुरक्षा कायम राख्न तथा सुरक्षा निकायहरूको मनोबल उच्च राख्न गृहमन्त्री अर्याल निरन्तर खटिइरहेको सबैलाई ज्ञात रहेको पनि स्मरण गराएकी छन्।

प्रधानमन्त्री कार्यालयले यस्तो संवेदनशील समयमा भ्रमपूर्ण समाचार र अफवाह फैलाउने प्रयासले राष्ट्रको हित र स्थिरतामा नकारात्मक प्रभाव पार्ने भन्दै यस्ता गतिविधि नगर्न र नपत्याउन सम्पूर्ण पक्षलाई अनुरोध गर्नु भएको छ।