आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News भारतीय राजदूत श्रीवास्तवद्वारा मन्त्री खरेलसँग भेट — नेपाल–भारत सम्बन्ध र सहयोगका विषयमा छलफल

भारतीय राजदूत श्रीवास्तवद्वारा मन्त्री खरेलसँग भेट — नेपाल–भारत सम्बन्ध र सहयोगका विषयमा छलफल

130

काठमाडौँ, १३ कात्तिक — सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेट गरेका छन्। भेटमा नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्ध, द्विपक्षीय सहकार्य, विकास आयोजना तथा नेपाल सरकारका प्राथमिकता विषयमा छलफल भएको थियो।

भेटका क्रममा मन्त्री खरेलले स्वतन्त्र र निष्पक्ष निर्वाचन, भष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सरकारका प्रमुख प्राथमिकता रहेको बताउनुभयो। साथै आगामी निर्वाचनको तयारीका लागि सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिबीच त्रिपक्षीय संवाद प्रारम्भ भएको जानकारी दिनुभयो।

राजदूत श्रीवास्तवले मन्त्री खरेललाई बधाई दिँदै नेपालका प्राथमिकताका क्षेत्रमा भारत सरकारबाट वित्तीय र प्राविधिक सहयोग जारी रहने प्रतिबद्धता जनाउनुभयो। भेटमा सञ्चार मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरूको समेत सहभागिता रहेको थियो।

यसअघि मन्त्री खरेलसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङ र अमेरिकी राजदूत डिन आर. थम्पसनले पनि छुट्टाछुट्टै शिष्टाचार भेट गरेका थिए।