आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News डडेल्धुरामा सामुदायिक वनका अध्यक्षविरुद्ध २० लाखको भ्रष्टाचार मुद्दा

डडेल्धुरामा सामुदायिक वनका अध्यक्षविरुद्ध २० लाखको भ्रष्टाचार मुद्दा

89

काठमाडौँ, १२ कार्तिक — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डडेल्धुराको आलिताल गाउँपालिका–३ स्थित कैलाश समैजेश्वर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सर्वजित मडै विरुद्ध विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगद्वारा बुधबार जारी विज्ञप्तिअनुसार मडैले समितिको रकम हिनामिना, हानिनोक्सानी र दुरुपयोग गर्ने उद्देश्यले समूहको मिति २०७८ मंसिर १० गतेको माइन्युटको नक्कली प्रतिलिपि तयार गरी सचिव र कोषाध्यक्षको जानकारीबिना चेकमा किर्ते हस्ताक्षर गरेका थिए।

त्यसपछि उनले सोही चेक प्रयोग गरी २०७८ मंसिर १६ गतेदेखि २०७९ वैशाख २५ गतेसम्म विभिन्न मितिमा जम्मा रु. २० लाख १५ हजार रकम आफ्नै नाममा झिकेका थिए। समितिले रकम हिनामिना भएको पत्ता लगाएपछि मडैले मात्र रु. २ लाख फिर्ता बुझाए भने बाँकी रु. १८ लाख १५ हजार दुरुपयोग गरेको प्रमाणित भएको आयोगले जनाएको छ।

मडैले रकम समितिको डडेल्धुरा शाखाबाट नभई अत्तरिया, धनगढी, चौमाला र महेन्द्रनगरका विभिन्न बैंक शाखाबाट निकालेको समेत पत्ता लागेको छ। अनुसन्धानका क्रममा डिभिजन वन कार्यालय डडेल्धुराको स्थलगत प्रतिवेदन, फरेन्सिक परीक्षण, र बैंकका अभिलेखहरूबाट मडैले किर्ते दस्तावेजमार्फत रकम निकालेको पुष्टि भएको आयोगको भनाइ छ।

आयोगका अनुसार मडैको यस्तो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा पर्ने भएकाले सोही ऐनअनुसार रु. १८ लाख १५ हजार बिगो कायम गरी कैद र जरिवानाको मागदाबीसहित आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको हो।