111
पोखरा, कास्की — कात्तिक १२, २०८२
भदौ २४ गते जेन जी पुस्ता आन्दोलनको बेला कास्की जिल्लामा प्रहरी कार्यालयहरूमा आक्रमण गरी तोडफोड, आगजनी र हतियार लुटपाट गरेको आरोपमा प्रहरीले १८ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ परेकामध्ये १० जनामाथि म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ भने बाँकी ८ जनालाई धरौटीमा रिहा गरिएको छ।
कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीका अनुसार, पक्राउ परेका व्यक्तिहरूमध्ये धेरैजना विगतमा पनि विभिन्न आपराधिक घटनामा संलग्न रहँदै आएका थिए। उनीहरूले कारागार वा प्रहरी हिरासतबाट भागेको, मदिरा तथा लागूपदार्थ सेवन गर्ने, र सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने जस्ता गतिविधि गर्दै आएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।