काठमाडौँ, ११ कार्तिक : नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी शक्तिहरूबीच एकता र साझा आन्दोलन अपरिहार्य भएको बताएका छन्। आज बिहान सामाजिक सञ्जालमार्फत उनले देशमा देखिएको जटिल राजनीतिक अवस्था, जनअपेक्षा, राष्ट्रिय स्वाधीनता र लोकतन्त्र माथिका चुनौती समाधानका लागि वाम एकता आवश्यक भएको बताएका हुन्।
प्रचण्डले माओवादी धारसहितका सबै वामपन्थी शक्तिहरूलाई एउटै कम्युनिस्ट पार्टीको झण्डामुनि एकताबद्ध हुन अपिल गरेका छन्। उनले संविधानको रक्षा, समुन्नत लोकतन्त्रको विकास र राष्ट्रिय स्वाधीनताको सुदृढीकरणका लागि राष्ट्रिय एकताको साझा मोर्चा आवश्यक रहेको बताएका छन्।
यसैबीच, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकता गर्ने तयारी अघि बढाइएको छ। अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपालबीच सहमति भए पनि अन्य नेताहरू भने एकता गर्न नहुने तर्क गर्दै छन्। कार्यदलमार्फत एकता प्रक्रियाको तयारी जारी रहेको प्रचण्डले बताए ।
