आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News स्वास्थ्य उपचारका लागि  देउवा र आरजु राणा सिंगापुर प्रस्थान, अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा ह्विलचेयरमा

स्वास्थ्य उपचारका लागि  देउवा र आरजु राणा सिंगापुर प्रस्थान, अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा ह्विलचेयरमा

113

काठमाडौं, कार्तिक ११ गते —नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी सांसद डा. आरजु राणा देउवासहित स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन्।

देउवा दम्पती गएराति (कार्तिक १० गते) काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिंगापुर एयरलाइन्सको नियमित उडानमार्फत सिंगापुर प्रस्थान गरेका हुन्। उनीहरू आज बिहान सिंगापुरको चाङ्गी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन्।

विमानस्थलमा देखिएका दृश्यअनुसार देउवा र राणा दुवै जना ह्विलचेयरमा थिए। कांग्रेस निकट स्रोतका अनुसार उनीहरू स्वास्थ्य परीक्षण र उपचारका लागि सिंगापुर पुगेका हुन्।

यसअघि भदौ २४ गते जेनजी आन्दोलनको दोस्रो दिन बूढानीलकण्ठस्थित देउवा निवासमा आक्रमण भएको थियो। सो क्रममा देउवा दम्पतीमाथि कुटपिट र निवासमा आगजनीसमेत भएको थियो। उक्त घटनापछि उनीहरू लामो समयसम्म सार्वजनिक देखिएका थिएनन्।

देउवा र राणा पछिल्लो पटक असोज २८ गते नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा सानेपामा देखिएका थिए। त्यसपछि देउवाले पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिई स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेको बताइएको छ।

कांग्रेस निकट स्रोतका अनुसार देउवाको स्वास्थ्य अवस्था सामान्य रहेको तर थप उपचारका लागि चिकित्सकको सिफारिसअनुसार विदेश गएका हुन्।