वीरगंज, ११ कार्तिक — लोकआस्थाको महान् पर्व छठ मङ्गलबार बिहान उदाउँदो सूर्यलाई अर्घ अर्पण गरी भव्यताका साथ सम्पन्न भएको छ। चार दिनसम्म विविध विधिपूर्वक मनाइने यो पर्वको अन्तिम दिन व्रतालुहरूले बिहानैदेखि नदी, तलाउ र पोखरी किनारमा बनाइएका छठ घाटहरूमा भेला भई छठी माता र सूर्यदेवको पूजाअर्चना गरेका थिए।
सोमबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएको परम्परा अनुसार मंगलबार बिहान सबेरै व्रतालुहरूले पवित्र जलमा उभिएर उदाउँदो सूर्यलाई विधिपूर्वक अर्घ प्रदान गरेपछि पर्वको विधिवत् समापन गरिएको हो।
तराई–मधेशका प्रमुख शहरदेखि गाउँबस्तीसम्मका छठ घाटहरूमा व्रतालु र दर्शनार्थीहरूको ठूलो घुइँचो लागेको थियो। रातभरि भजन–कीर्तन र छठी गीत गाएर बसेका भक्तजनहरूले सूर्यको पहिलो किरण देखिने वित्तिकै केराका घारी, ठेकुवा, भुसवा, फलफूल र अन्य नैवेद्यसहितको ‘दउरा’ लिएर अर्घ अर्पण गरेका थिए।
छठ पर्वलाई पारिवारिक सुख, सन्तानको कल्याण, स्वास्थ्य र मनोकामना पूर्तिका लागि कठोर नियमका साथ मनाइन्छ। यस पर्वले तराई–मधेशको धार्मिक, सांस्कृतिक र सामाजिक एकता र सद्भावलाई अझ प्रगाढ बनाएको छ। पूजास्थलमा धनी–गरिब, ठूला–साना सबै एकै ठाउँमा भेला भएर पूजा गर्दा सामाजिक समरसताको अनुपम उदाहरण प्रस्तुत भएको स्थानीयहरूले बताएका छन्।
उदाउँदो सूर्यलाई अर्घ दिएपछि व्रतालुहरूले ३६ घण्टा लामो निर्जला उपवास तोडेका छन्। यस वर्षको छठ पर्व हर्षोल्लास, श्रद्धा र भक्तिभावका साथ सम्पन्न भएको छ ।