वीरगंज, १० कार्तिक : हिन्दुहरुको लोक आस्थाको महान पर्व छ्ठ पर्व आज कात्तिक शुक्ल षष्ठीका दिन देशभर श्रद्धा, भक्ति र उल्लासका साथ छठ पर्व मनाइदै छ। ब्रतालुहरु आज अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरी पूजा आराधना गर्दै छन्। भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेपछि चारदिनसम्म चल्ने यो महान् पर्वको समापन हुने परम्परा रहेको छ।
छठ पर्वको मुख्य दिनको अवसरमा सरकारले आज र भोलि मंगलवार सार्वजनिक बिदा दिएको छ। पर्सा जिल्ला लगायत देश भरका छठ घाट, नदी, खोला आदी लगायतका पूजास्थलहरूमा भक्तजनहरूले सरसफाई गरी छठ पूजाको लागि तयार गरिसकेका छन। यसरी छठ पूजाका लागि पुजा सामग्री, फलफूल, ठेकुवा, नारिवल, उखु, मिठाई लगायतका अन्य थप चाहिने प्रसाद तयार पारिएको छ।
ब्रतालुहरूले आज साँझ सूर्यास्तको बेला अर्घ दिई रातभर जाग्राम बस्ने र भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ अर्पण गरी व्रत सम्पन्न गर्ने गर्छन्। यस पर्वमा महिला ब्रतालुहरु विशेष रूपमा सहभागी हुने परम्परा छ।
पहिले विशेषगरी तराई क्षेत्रमा मात्र मनाइने यो पर्व पछिल्ला वर्षहरूमा पहाडी र हिमाली क्षेत्रहरूमा पनि उत्साहपूर्वक मनाउन थालिएको छ। यसले देशभर सामाजिक सद्भाव र एकताको सन्देश दिएको छ।
जनविश्वास अनुसार छठ पर्व विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल प्राप्त हुने, परिवारको कल्याण हुने र सबै दुःख, कष्ट हट्ने विश्वास गरिन्छ। व्रतालुहरूले कार्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान अपनाई शुद्ध जीवनशैलीमा बस्ने गर्छन्। केही व्रतालुले कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि नै लसुन, प्याज लगायत तामसी खाद्यपदार्थ त्याग गरी सात्विक भोजन ग्रहण गर्ने परम्परा पालन गर्छन्।
पवित्रता, अनुशासन र श्रद्धाको प्रतीकका रूपमा छठ पर्व देशभर धार्मिक उत्साहका साथ मनाइँदैछ।