आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News पर्सामा छठ पर्वलाई लक्षित गर्दै माछा, मासु र मदिरा बिक्री–सेवनमा प्रतिबन्ध

पर्सामा छठ पर्वलाई लक्षित गर्दै माछा, मासु र मदिरा बिक्री–सेवनमा प्रतिबन्ध

211

पर्सा, कात्तिक ९ गते।

हिन्दुहरुको महान पर्व छठ पर्वको पवित्रता र धार्मिक मर्यादा कायम राख्ने उद्देश्यले पर्सा जिल्लाभरी नै माछा, मासु र मदिरा सेवन तथा विक्री–वितरणमा अस्थायी प्रतिबन्ध लगाइएको छ।

पर्साका प्रमुख जिल्ला अधिकारी (सीडीओ) तोयनारायण सुवेदीले शनिबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै कार्तिक १० गते सोमवार साँझ छठको सझिया घाट (सूर्य अस्ताउँदो समयमा अर्घ्य दिने दिन) र कार्तिक ११ गते मंगलवार बिहान पारन (अर्घ्य सम्पन्न हुने दिन) बिहान ११ बजेसम्मका लागि प्रतिबन्ध लागू गरिएको जानकारी दिएका हुन्।

सुवेदीका अनुसार छठ पर्व पर्सा जिल्लावासीका लागि अत्यन्तै महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक पर्व भएकाले यसको पवित्रता जोगाई राख्न प्रशासनले यस्तो निर्णय गरेको बताउनुभयो। “मधेसी समुदायले सामान्यतया छठ अवधिभर माछा, मासु र मदिरा सेवन गर्दैनन्, तर पर्वको पवित्रता र सामाजिक सद्भाव कायम राख्न प्रशासनले औपचारिक रूपमा प्रतिबन्ध लागू गरेको हो।” सुवेदीले भने,

यसअघि पनि हरेक वर्ष छठ पर्वका अवसरमा स्थानीय प्रशासन र स्थानीय तहहरूले यस्तै किसिमको प्रतिबन्ध लगाउने गरेका थिए। प्रशासनको यो निर्णयले पर्वको पवित्र वातावरण जोगाउन तथा सामुदायिक एकता र सद्भाव प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।