वीरगंज पर्सा, ९ कार्तिक २०८२ |
लोक आस्थाको महान पर्व छठ पर्वको दोस्रो दिन आज (आइतबार) ‘खरना’ विधिपूर्वक मनाइँदैछ। आराध्यदेव सूर्यको उपासना र आत्मशुद्धिको प्रतीक मानिने खरनालाई छठ पर्वको अत्यन्त महत्वपूर्ण दिनका रूपमा लिइन्छ।
खरनाको दिन बिहानै स्नान गरी ब्रतालुहरू घर–आँगन सफा गर्ने र गाईको गोबरले लिपपोत गरी पवित्रता कायम गर्ने चलन रहेको छ। त्यसपछि अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरिन्छ। दिनभर निराहार बसेका ब्रतालुहरूले साँझ चन्द्रमा उदाएपछि माटाको नयाँ चुल्हो र भाँडामा सखर, दूध र मङ्सिरमा पाक्ने स्थानीय जात ‘गम्हरी’ चामलको खीर(रसियाव) र रोटी पकाउँछन्।
पकाइएको सो खीर (रसियाव ) र रोटी कूल देवता र छठी मइयालाई अर्पण गरी ब्रतालुहरूले प्रसादका रूपमा ग्रहण गर्छन्। धार्मिक विश्वास अनुसार खरनाको दिन पाप क्षय हुने र आत्मशुद्धि प्राप्त हुने जनविश्वास रहिआएको छ। चारदिनसम्म चल्ने छठ पर्वको तेस्रो दिन अस्ताउँदो सूर्य र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरी पर्व सम्पन्न गरिनेछ।