पर्सा, वीरगञ्ज ८ कार्तिक। लोक आस्था र श्रद्धाको महान पर्व छठ पर्व लाई लक्षित गर्दै सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया द्वारा छठघाटमा सरसफाइ अभियान सञ्चालन गरिएको छ।
वीरगञ्ज महानगरपालिका वडा नं. २ का वडा अध्यक्ष महमद रेयाज मियाको सक्रिय सहभागितामा आज बिहान उक्त सरसफाइ अभियान सम्पन्न गरिएको हो। सरसफाइ अभियानमा वडा अध्यक्ष मियासहित सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाका संयोजक हाजी डा. ग्यासुदिन मिया ठकुराई र स्थानीय बासिन्दाहरूको उल्लेख्य सहभागिता रहेको थियो।
अभियानका क्रममा छठघाट आसपासका क्षेत्रहरूमा फोहर व्यवस्थापन, पानीको निकास सुधार, घाँस–झार हटाउने तथा सजावटको तयारी कार्य गरिएको थियो।
वडा अध्यक्ष मियाले सरसफाइ अभियानको महत्वबारे बताउँदै भने, “छठ पर्व धार्मिक आस्था र सामाजिक एकताको प्रतीक हो। यस पर्वमा स्वच्छ वातावरण आवश्यक भएकाले हामी सबै मिलेर घाटलाई सफा र सुरक्षित बनाउन अग्रसर भएका हौं।”
छठ पर्वको शुभकामना सहित स्थानीय बासिन्दाहरूले सरसफाइ अभियानप्रति खुसी व्यक्त गर्दै छठ पर्वलाई मर्यादित, स्वच्छ र सफल बनाउन वडा अध्यक्षले सबैलाई सक्रिय सहभागिताका लागि अनुरोध गरेका छन्।